‘इम्बोस्ड’ प्लेट कार्यान्वयनमा ढिलाइ

सवारीसाधनमा जडान गरिने उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ढिलाइ हुने भएको छ । सरकारका तीन मन्त्रालयबीच समन्वय नहुँदा यातायात क्षेत्रको यो महत्वाकांक्षी परियोजना कार्यान्वयनमा समस्या देखिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठमै इम्बोस्ड नम्बर प्लेटको लागत र सवारी तथा यातायात व्यवस्था ऐनको अनुसूचि परिमार्जनका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले लागत स्वीकृत गरे पनि कानुन मन्त्रालयले अनुसूचि परिवर्तनका लागि सहमति नदिँदा इन्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयनमा ढिलाइ भएको हो ।
इम्बोस्ड नम्बर प्लेट छाप्ने जिम्मा पाएको कम्पनीले सम्पूर्ण तयारी सकेर प्रिन्टका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ । कम्पनी भने सबै काम सकेर नम्बर प्लेट प्रिन्ट गर्ने तयारी अवस्थामा रहेको तर अनुसूचि परिवर्तन नहुँदा केही ढिलाइ भएको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए ।
“यससम्बन्धी काम भइरहेको छ, अर्थ मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटको लागत स्वीकृत गरिसकेको छ भने कानुन मन्त्रालयले अनुसूचि परिवर्तनका लागि सहमति दिने क्रममा छ,” सचिव भट्टराईले भने, “कानुनबाट सहमति पाएपछि अनुसूचि परिवर्तन गरी कार्यान्वयनमा ल्याउँछौं ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटको लागत न्यूनतम २ हजार ५ सयदेखि ३ हजार ६ सय रूपैयाँसम्म निर्धारण गर्दै तीन तहको मूल्य सिफारिस गरेको थियो ।
मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २ हजार ५ सय रूपैयाँ खर्च गर्नु पर्नेछ । यसैगरी।, कार÷जिप÷भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनमा सवारी धनीले ३ हजार ६ सय रूपैयाँ खर्च गर्नुपर्ने भौतिकको सिफारिस अर्थ मन्त्रालयले स्वीकृत गरेको हो । एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ ।
त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्र्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्ने हो ।
यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नु पर्दैन । यसलाई परिवर्तन गर्नुपरेमा प्लेट कसेको लक नै काट्नुपर्ने हुन्छ । सवारीसाधन दुर्घटनामा परेर टुटफुट भएमा मात्र प्लेट परिर्वतन गर्न सकिन्छ ।
पाँच वर्षभित्र दशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर जडानको लागि अनुमति पाएको बंगलादेश र अमेरिकी संयुक्त कम्पनी डेकाटोर टाइगरले नम्बर प्लेट जडानका लागि सबै काम सकिइसकेको जनाएको छ । सुरुमा सरकारी सवारी साधनसँगै निजी तथा सार्वजनिक सवारी साधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्दै लगिने विभागले जनाएको छ ।