Logo

गाडी किन्ने रकम विकासमा खर्च गर्ने खोटाङका चार जनप्रतिनिधि

खोटाङ – राज्यले स्थानीय तहका जनप्रतिनिधिलाई कार्यालय प्रयोजनका लागि चारपांग्रे गाडी किन्न सक्ने सुविधा दिएको छ । सोही व्यवस्थाको फाइदा उठाउँदै अधिकांश जनप्रतिनिधिले आफ्नो सुविधाका लागि महँगो रकम खर्चेर चारपांग्रे गाडी किनेका छन् ।
पहिलो पाँच वर्षे कार्यावधिको अन्त्यतिरसमेत कतिपय जनप्रतिनिधिहरूमा ‘गाडी मोह’ देखिएको छ । तर, खोटाङका चार वटा गाउँपालिकाका अध्यक्षको कार्यकाल भने गाडी नकिनेरै बित्दैछ । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लाका वराहपोखरी, जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकाका अध्यक्षाहरूले चार पांग्रे गाडी नकिनेरै आफ्नो कार्यकाल बिताउन लागेका हुन् ।
“एकातिर गरिबी र अर्कोतिर भौगोलिक विकटताका कारण नागरिकहरूले अझै पनि लौरो टेकेर ढाकर बोकिरहेको अवस्थामा मैले स्कारपियो चढेर सान देखाउनुको अर्थ छैन,” बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जारा भन्छन्, “म एक्लैले सुखसयल गरेर हँुदैन, गाउँपालिकाका जनता सुखी भए न जनप्रतिनिधि हुनुले मतलब राख्छ ।”
गाडी सुविधा मात्र नभई आफूले क्वार्टरसमेत नलिएको र कार्यकाल सकिएपछि आफूले बुझाउनुपर्ने एउटा मोबाइल र मोटरसाइकल मात्रै रहेको उनले बताए । बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधिका लागि चारपांग्रे गाडी किन्ने रकम एम्बुलेन्स र जेसीबी खरिदमा खर्च गरिएको छ ।
जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले जनप्रतिनिधिले आफ्नोभन्दा जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । “हामी जनप्रतिनिधिहरूले सुविधाभोगी हुनुभन्दा जनतालाई सुविधा दिनुपर्छ । राईले हामीले जनताकै लागि भनेर गाडी किन्ने रकमले जेसीबी खरिद गरेका छौँ,” अध्यक्ष राईले भने, “बर्खा याममा अघिअघि जेसीबी गएर बिग्रे भत्केको सडक मर्मत गर्छ । पछिपछि बिरामी बोकेर एम्बुलेन्स वंशिलाघाट हुँदै धरान, विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्छ । यसरी थुप्रै ज्यान जोखिममा परेका नागरिकलाई हामीले बचाएका छौँ ।” जन्तेढुंगा गाउँपालिकालाई एम्बुलेन्स भने भारतीय भूतपूर्व सैनिक संस्थाले प्रदान गरेको छ ।
केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले आफ्नो सुविधाका लागि नभई जनताको सेवाका लागि आफू निर्वाचित भएको बताए । केपिलासगढी गाउँपालिकामा गाडी खरिदमा खर्च हुने रकम केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने तापखोलामा मोटरेबल पक्की पुल निर्माणका लागि खर्च गरिएको छ ।
साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले पनि जनप्रतिनिधिका लागि चार पांग्रे गाडी किन्ने रकम एम्बुलेन्स खरिदमा खर्च गरिएको बताए । “जनताको जीवनस्तर कहाँ छ, त्यो कुरालाई प्राथमिकतामा राख्नुपर्यो नि,” खड्काले भने, “गाडी किन्ने पैसा एम्बुलेन्स खरिद र गाउँपालिकाको विकास निर्माणमा लगानी गर्यौं ।”
नागरिकको आवश्कयतालाई प्राथमिकतामा राखेर धेरै रकम पर्ने चारपांग्रे गाडी खरिद नगरेका जिल्लाका चार पालिकाका अध्यक्षहरूले मोटरसाइकल भने खरिद गरेका छन् । सेवा दिन नागरिकका घरआँगन पुग्नुपर्ने भएकाले थोरै रकमको दुई पांग्रे मोटरसाइकल खरिद गरिएको उनीहरूले बताएका छन् ।

पवन खड्का

प्रतिक्रिया दिनुहोस्