Logo

पाँच मिनेटको आँधीहुरीले अर्बाैं क्षति

बारा-पर्सा-आइतबार साँझ आएको भीषण हावाहुरीले बारा र पर्सामा गरी करोडौंका भौतिक क्षति भएको छ । आँधीहुरीले पर्सामा उक र बारामा २६ गरी २७ जनाको ज्यान लिएको छ । जम्मा पाँच मिनेटमात्र आएको आँधीहुरीले बाराको फेटा गाउँपालिका भलुही, भरवलिया, पुरैनिया, कलैया उपमहानगरपालिकाको वडा नम्बर १८ मनगढवा, प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी र परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ चैनपुरका सयौं घरमा क्षति पु-याएको छ ।
बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले २६ जनाको मृत्यु भएको तथा सयौं घर भत्केकाले यकिन तथ्यांक आउन बाँकी रहेको बताए । हावाहुरीबाट फेटाको भलुई भरवलिया र प्रसौनीमा बढी क्षति भएको छ । फेटामा फुसको घर, बिजुलीको पोल र रूख ढलेर किच्दा ६ जनाभन्दा बढीको मृत्यु भएको छ । यसैगरी प्रसौनीमा पाँचभन्दा बढीको मृत्यु भएको र अन्य मृतक पुरैनिया तथा परवानीपुर चैनपुरका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हावाहुरीले परवानीपुरको चैनपुरमा २५ भन्दा बढी गाडी पल्टाएको थियो । गाडी पल्टिँदा थुप्रै घाइते भएका छन् । चैनपुरमा पनि धेरै घर भत्किएका छन् । चैनपुरबाट उद्दार गरिएका घाइतेलाई पनि वीरगन्ज लगिएको थियो । हावाहुरीले सडक छेउका रूख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्दारमा केही समय कठिनाइ भएको घटनास्थलमा रहेका श्रेष्ठको भनाइ छ ।
पर्साको वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२ मा पनि स्थानीयको घरटहरा उडाएको छ । तीब्रगतिमा आएको आँधीहुरीले बाराको भलुही, भरबलिया र पुरैनिया गाउँको साना झुपडी र खपडाको घरमात्र नभइ पक्की घरसमेत भत्काउँदा घरले च्यापिएर र खम्बाहरूले थिचेर मृत्यु भएको थियो । एउटै इँटाभट्टामा काम गर्ने ४० जना मजदुरमध्य दुईजनाको मृत्यु भएको छ । साह इँटामा कार्यरत ४० जना मदुरमध्ये चारजना मजदुर गम्भीर घाइते रहेको उद्योगका सञ्चालक हरि गौतमले जानकारी दिए । भलुही भलबरिया–२ मा घरको खम्बाले एउटाको खुट्टामा अर्कोको टाउकोमा थिचेर राखेको थियो । वीरगन्ज पथलैया सडक खण्डमा गुडिरहेका सवारीसाधन हावाहुरीका कारण दुर्घटना हुँदा पर्साका एकजनाको मृत्यु भएको छ । आँधीहुरीले प्रभावित क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारका अधिकारीहरूले निरीक्षण गरेका छन् ।
२ वटा सेलर मिल र ५९ घरमा पूर्ण क्षति
हावाहुरीले पर्सामा भन्दा बारामा बढी क्षति पु-याएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइ नसकेको र विवरण संकलन कार्य जारी रहेको छ । प्रारम्भिक चरणमा गरिएको विवरण संकलन अनुसार घरको पर्खाल, छाना आंशिक क्षति गरी २ सय ४९ वटा घरटटहरा, पूर्णक्षति भएको घर ५९ वटा रहेको पर्साका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । हावाहुरीले सबस्टेसनको टावर, पोल र तारमा क्षति पु-याएकाले विद्युत् सेवा अवरुद्ध भएको छ । वीरगन्जमा आपूर्ति भईरहेको १३२ केभीको परवानीपुर रक्सोलको सव स्टेशनको टावर बटारिएकोले विद्युत आपूर्तिमा समस्या भएको नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । विद्युत् सेवा अवरुद्ध हुँदा अस्पतालमा उपचार गराईरहेका घाईतेहरूको उपचारमा समेत समस्या भएको छ ।
बिहानदैखि नै उद्दारकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटेका थिए । यस्तै, दिउँसोदेखि राहत वितरण पनि थालिएको छ । छिमेकी जिल्लाका संघसंस्थाहरूले धमाधम राहत सामग्री वितरण गर्न थालेका हुन् । पीडितहरूले भने तत्काल त्रिपाल र टेन्टका साथै खाद्यान्नको माग गरेका छन् । राहतमा आएको चामल पकाएर सामूहिक रुपमा खान थालेका पीडितहरूले रात कसरी कटाउने भन्ने समस्यामा छन् ।
चिकित्सक संघले डाक्टरहरूको टोली घटनास्थलमा पठाएको छ । प्रदेश सरकारले प्रत्येक मृतक परिवारलाई ३ लाख नगद र सम्पूर्ण घाइतेको उपचार खर्च बेहार्ने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताए ।

प्रकाश लम्साल-नीरज पिठाकोटे

प्रतिक्रिया दिनुहोस्