सबै स्थानीय तह, विद्यालय र स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड इन्टरनेट «

सबै स्थानीय तह, विद्यालय र स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले सुरु गरेको मुलुकका सबै स्थानीय तह, माध्यमिक विद्यालय र स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड सेवा पु-याउने परियोजना अन्तर्गत शतप्रतिशत उपलब्धि प्राप्त भएको छ ।
प्राधिकरणका अनुसार गत फागुन मसान्तसम्ममा यो उपलब्धि हासिल भएको छ । प्राधिकरण मातहत रहेको ग्रामीण दूरसञ्चार कोषको रकम उपयोग गर्दै यो सेवा विस्तार गरेको हो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये ७४ जिल्लाका तोकिएका स्थानमा शतप्रतिशत कार्य सम्पन्न भइ सेवा सञ्चालनमा आइसकेका छन् । उनका अनुसार ७४ जिल्लाका ७ सय ६ स्थानीय तह, ५ हजार २ सय ९९ माध्यमिक विद्यालय र ४ हजार २ सय ३७ स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगिसकेको छ ।
स्थानीय तह, माध्यमिक विद्यालय र स्वास्थ्य चौकी शतप्रतिशतमा ब्रोडब्यान्ड सेवा विस्तार भइसके पनि वडा कार्यालयहरुमध्ये ३४ वटामा जडान हुन बाँकी नै छ । जसअनुसार ५ हजार ९ सय ३३ वडा कार्यालयमा ब्रोडब्यान्ड सेवा पु¥याउनुपर्नेमा हालसम्म ९९.४३ प्रतिशत अर्थात ५ हजार ८ सय ९९ वडा कार्यालयमा यो सेवा पुगेको छ ।
प्राधिकरणले यो सेवा विस्तारका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकमसहित मर्कन्टाइल कम्युनिकेसन, सुबिसु केबलनेट, वल्र्डलिंक कम्युनिकेसन्स, भायनेट कम्युनिकेसन्स र टेकमाइन्डस नेटवर्कलाई छनोट गरेको थियो । यी कम्पनीमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिएको हो ।
प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी भूकम्पबाट अति प्रभावित ८ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी २ वर्षका लागि महशुल बापतको रकम उपलब्ध गराउने भएको छ । भूकम्प प्रभावित जिल्लाहरु काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थामा यो सुविधा विस्तार हुनेछ । ती निकायको क्षमता अभिवृद्धि गर्न र जडान गर्न र सम्पूर्ण आधारभूत विद्यालय गरी करिब ४ हजार २ सय ५१ स्थानमा कम्तिमा २० एमबीपीएस क्षमताको ‘नन डेडिकेटेड ब्रोडब्याण्ड’ सेवा उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
निःशुल्क ब्रोडब्यान्ड जडान कार्यका लागि सम्बन्धित गाउँपालिका नगरपालिकाहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी कार्य अगाडी बढाइएकोमा फागुन मसान्तसम्ममा कुल ७६ मध्ये ७२ गाउँपालिका नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको प्रतिवेदनमा उल्लेख छ । साथै भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरु र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाहरुका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तिमा २० एमबीपीएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएको छ । यसका निमित्त कुल ६ सय ५६ मध्ये २ सय ८३ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्