‘व्यवसायीको दोहोरो बिलले भन्सारमा समस्या’

सरकारले भन्सारमा मूल्यांकनमा नभइ वर्गीकरणमा समस्या रहेको भन्दै व्यापारीहरूमाथि पूर्ण रूपमा विश्वास गर्न सकिने अवस्था नरहेको वताएको छ । व्यवसायीहरूले दोहोरो बिल देखाउने गरेका कारण उनीहरूमाथि पूर्ण रूपमा विश्वास गर्ने अवस्था नरहेको र यसमा सुधार आवश्यक रहेको वताएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भन्सार विभागले बिहीवार राजधानीमा गरेको ‘आर्थिक विकासका लागि सुरक्षित व्यावसायिक वातावरण’ विषयक अन्तक्र्रियामा उद्योगी व्यवसायीले नेपालमा उद्योग फस्टाउन सक्ने आधार रहे पनि त्यसकलागि भन्सार नीतिको सुधार नै पहिलो खुडकिलो भएको भन्दै सरकारको आलोचना गरेका थिए । हाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को व्यवस्थाअनुसार भन्सार दर नघटेको भन्दै व्यवसायीहरूले त्यसमा सुधार गर्न माग गर्दै आएका छन् । निजी क्षेत्रको मागलाइ सम्बोधन गर्दै राजस्व सचिव शिशिरकुमार ढुंगानाले व्यापारीहरूले देखाउने बिलमा भर गर्ने अवस्था नरहेकैले भन्सार कार्यालयहरूले सन्दर्भ पुस्तिकाका आधारमा भन्सार उठाउनुपरेको वताए । “भन्सार मूल्यांकनको व्यवस्था परिमार्जन गर्न सरकार तयार छ तर हालको मुख्य समस्या मूल्यांकनमा होइन वर्गीरणमा हो,” ढुंगानाले भने । उनले उनले इमान्दारिता र नैतिकता सवैतिर लागू भएमा अहिले देखिएका समस्याको सहज निराकरण हुने पनि वताए । “भन्सारमा भनेजस्तो सुधार भएको छैन, तर भन्सारमा देखिएको समस्यामा सरकार मात्रै होइन निजी क्षेत्र पनि त्यतिकै दोषी छ,” उनले भने ।
कार्यक्रममा अर्थविद् केशव आचार्यले पछिल्लो समय व्यापारघाटा कहालीलाग्दो अवस्थामा रहेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने वताए । “नेपालमा वित्तीय पहुँचमा सुधार हुँदाहँुदै पनि प्रतिघण्टा १० करोड ८३ लाख व्यापारघाटा छ यो नै हाम्रा लागि सवैभन्दा ठूलो चुनौती हो,” उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी १० वर्ष नेपालका लागि स्वर्णीम अवसर भएको भन्दै यसको पूर्वाधार भने भन्सारमा सुधार आवश्यक रहेको वताए । “गएको २५ वर्ष निजी क्षेत्रले निक्कै दुःख कष्ट भोग्नु पर्यो तर, निजी क्षेत्र हतोत्साही अझै भएको छैन,” उनले भने, “नेपाली उद्योग चुनौतीपूर्ण अवस्थावाट गुज्रिएकोले अवको सुधार भने भन्सारवाटै हुनु पर्छ ।” उनले भन्सार प्रशासनमा सन्दर्भ पुस्तिका विकृतिको रूपमा रहेको भन्दै उक्त पुस्तिका हटाउन माग गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासनले व्यापारीलाइ करदाताभन्दा ‘चोर–डाँका’को रूपमा हेर्ने गरेको गुनासो गरे । उनले भन्सारका हाकिमको तजबिजीमा भन्सार मूल्यांकन गर्ने परिपाटी अन्त्य गरिनुपर्नेमा जोड दिंदै भन्सार नीति करमैत्री नभएका कारण चोरी पैठारीको समस्या नरोकिएको दाबी गरे । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले राजस्व वढाउनका लागि भन्सार नीति परिवर्तन गर्नुपर्ने वताए । मुलुकको भन्सार नीति उद्योगधन्दालाइ निरुत्साहित गर्ने खालको रहेको र त्यही कारण व्यापारघाटा बर्सेनि चुलिंदै गएको धारणा केसीको छ । भन्सार विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपालले उद्योगी व्यवसायीको सुझावलाई आधार मानेर कानुनमा रहेका कमजोरी सच्याउने वताए । ६६ औं भन्सार दिवस सरकारले शुक्रबार विभिन्न कार्यक्रम गरेर मनाउँदै छ ।