Logo

देशमा सर्वसत्तावाद लाद्न खोजिँदैछ : थापा

वीरगन्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरुले राज्य संयन्त्र माथि कब्जा गरेर सर्वसत्तावाद लाद्ने प्रयास गरिरहेको बताएका छन् । राप्रपा गठनपछि पहिलोपटक वीरगन्ज आएका थापाले पत्रकार सम्मेलनको आयोजना गरेर निहित स्वार्थका लागि विदेशीलाई गुहार्ने प्रवृत्तिले नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्न सक्ने खतरा रहेको बताए ।
उनले धर्मनिरपेक्षताको आडमा भइरहेको संगठित र योजनावद्ध धर्म परिवर्तनले नेपाली समाजमा सयौंदेखि कायम रहेको धार्मिक तथा सांस्कृतिक सद्भावलाई खल्बल्याएर देश धार्मिक द्वन्द्वमा जानसक्ने टड्कारो खतरा देखिएको पनि बताए । पश्चिमा मुलुकको दबाब र प्रभावले धर्मनिरपेक्षता लेखिएको दावी उनले गरे । पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले छिमेकी मुलुकहरुसँगको कूटनीतिक सम्बन्ध कमजोर भएको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवि विग्रिएको बताए । उनले चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध सुधार हुने अपेक्षा गरिए पनि त्यय विषयमा सरकारको प्रष्ट धारणा नआएको बताए । राप्रपा नेपालको धेरै महत्वाकांक्षा नरहेको बताउँदै थापाले स्थानीय तहको निर्वाचन आफ्नो पार्टी त्यति धेरै केन्द्रीत नहुने बताए ।
गीता छोएर पार्टी नफुटाउने प्रतिबद्धता गरेपनि राप्रपा पार्टी फुटाएको आरोप लागेको सञ्चारकर्मीहरुले उठाएको प्रसंगमा उनले त्यसलाई गलत प्रचार गरेर भ्रम फैलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्