म्यादी प्रहरीमा मागभन्दा झन्डै तीन गुणा बढीको आवेदन «

म्यादी प्रहरीमा मागभन्दा झन्डै तीन गुणा बढीको आवेदन

लमजुङ – लमजुङमा म्यादी प्रहरीमा मागभन्दा झन्डै तीन गुणा बढिको आवेदन परेको छ । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि निधारित समयसिमा भित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका हुन् । म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेसीसहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि लमजुङमा नौसय ८६ जना म्यादी प्रहरी छनौट गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तर, मागभन्दा झन्डै तीन गुणा बढीको आवेदन परेको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक जगदिश रेग्मीले बताए । प्रहरी निरिक्षक रेग्मीका अनुसार जिल्लामा आवेदन दिनेमध्ये ३ सय ९६ जना महिला मात्रै छन् । गत आइतबारदेखि जिल्लामा म्यादी प्रहरीको आवेदन खुलेको थियो । म्यादी प्रहरी भर्ना खुलेसँगै आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउनेको भीड लागेको थियो ।
यसैबीच म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये २० जना पहिलो चरणमै बाहिरिएका छन् । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएकामाध्ये उमेर समूहमा नपरेपछि पहिलो चरणमै २० जना बाहिरिएका हुन् ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड राखेको थियो । तर, जिल्लामा आवेदन दिएका मध्ये केही १८ वर्ष उमेर नपुगेका र केही ५४ वर्ष उमेर कटेको पाइएकाले शारिरिक परीक्षण अघिनै उनिहरु बाहिरिएको लमजुङ प्रहरीले जनाएको हो ।
पहिलो चरणमै बाहिरीएका २० जनालाई शारीरिक परिक्षण, स्वास्थ्य परिक्षण, लिखित परिक्षा लगायत केहिमा पनि सहभागिता नगराइने जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
पहिलो चरणमा छनौट भएकाहरुको आगामी १५ गतेदेखि शारिरिक परिक्षण हुने प्रहरीले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि स्वास्थ्य तथा शारिरिक मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ ।
भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान-निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश-उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।
सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीका लागि चैत २२ सम्म सवै परिक्षण सकेर अन्तिम नतिजा प्रकाशन गरी चैत २८ बाट प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्