प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक
मलेसियन गाडी प्रोटोन एक्स–५० औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।
जगदम्बा मोटर्सले मलेसियन गाडी प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी नेपालमा बिक्री गर्दै आएको छ । नेपालका लागि मलेसियाका राजदूत मोहम्मद फदजल अबु हसन र शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले संयुक्त रुपमा प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरे ।
यो गाडीमा स्ट्यान्डर्ड र प्रिमियम भेरियन्टमा १४७७ सीसीको टर्बो इन्जिन रहेको छ भने फ्ल्यागशीपमा १४७७ सीसीकै टीजीडीआइ इन्जिन रहेको कम्पनीले जनाएको छ । प्रोटोन एक्स–५० नेपाली बजारमा सबैभन्दा प्रिमियम मिड रेन्ज एसयूभी भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए ।
प्रोटोन एक्स ५० मा १.५ लिटर टर्बोचाज्र्ड, थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डाइरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल छ। टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
गाडीमा ६ वटा एयरब्याग, इबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपर, कीलेस एन्ट्री, अगाडि ढोका ह्यान्डलहरूमा टच सेन्सर रहेको बताइएको छ । साथै पुस–स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु यो गाडीमा छन् । यसमा सेल्फ–पार्किङ प्रणाली छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ ।
प्रोटोन एक्स ५० को न्यूनतम मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तय गरेको छ । तीन नयाँ भेरियन्टमा उपलब्ध हुने स्ट्यान्डर्डको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ लाख ९९ हजार रुपैयाँ र फ्ल्यागशीपको ८४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।