सबै दललाई मोर्चाबन्दी गरेर आउन ओलीको चुनौती «

सबै दललाई मोर्चाबन्दी गरेर आउन ओलीको चुनौती

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझेपनि सबै मिलेर एमालेसँग लड्न सकिँदैन भन्ने कुरा चाहिँ नबुझेको टिप्पणी गरे ।
उनले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरुलाई साथमै लिएर गएपनि एमालेलाई फरक नपर्ने बताए । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिए । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताए । माओवादीलाई पखालेर बागमती नै मैलिएको उनले टिप्पणी गरे । युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उनले बताए । अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताए । मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उनले बताए ।
शनिबार आयोजित अर्को कार्यक्रममा अध्यक्ष ओलीले एमालेका पाखुरा देखेरै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छक्क परेको टिप्पणी गरेका छन् । नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुष्ठ रुपमा आएपनि एमालेले नै जित्ने दाबी गरेका हुन् । एमालेसँग अन्य पार्टी डराएको समेत उनले बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे ।
‘मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले ग¥या छैन चुनावमा । अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो,’ ओलीले थपे, ‘नेपाली कांग्रेसको केन्द्रमा टुप्पामा बसेर टुप्पाबाट हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँले छक्क पर्नुभयो । तलतलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरी देख्या छु मैले एमाले देशभरी छ । चुनावमा नचिताए हुन्छ कसैले । पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरु छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ, जित्न सक्छ ।’
अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको दाबी गरेका थिए । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उनको आरोप थियो । माओवादी नक्कली राष्ट्रवादीको भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्