पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा «

पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा

वीरगन्ज-मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । पहिलो पटक मधेस प्रदेश सरकार मन्त्री परिषदको बैठक ठोरीमा बसेर पर्यटकीय स्थल ठोरीलाई ‘पर्यटकीय क्षेत्रा’ गरेको हो ।
ठोरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको ठोरी जंगल रिसोर्टमा बसेको मधेस प्रदेशको मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि ठोरीकै राइधारामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरे । ठोरी २ स्थित ठोरी जंगल रिसोर्टमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो ।
बैठकपछि ठोरीकै राइधारामा आयोजित औपचारिक कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारको निर्णय सुनाउँदै ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेका थिए । ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिएको ठोरीमा पर्यटकीय पूर्वाधार विकासका लागि प्रदेश सरकारले तत्काल १० करोड रुपैयाँ बजेट उपलब्ध गराउने मुख्यमन्त्री राउतले बताए ।
नेपाल भारतको सीमामा पर्ने सामरिक क्षेत्र ठोरी पर्यटकीय सम्भावना बोकेको मधेस प्रदेशकै एक महत्वपूर्ण स्थान रहेकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने मुख्यमन्त्री रातउले बताए । मधेस प्रदेशमा ठोरीलाई पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो । मुख्यमन्त्री राउतले प्रदेशका अन्य पर्यटकीय स्थानलाई पनि आवश्यकता अनुसार ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्दै पर्यटन पूर्वाधारको विकास गर्दै जाने बताए ।
ठोरी गाँउपालिकाका अध्यक्ष पिएल श्रेष्ठले मधेस प्रदेशकै एक महत्वपूर्ण पर्यटकीय क्षेत्र ठोरी राज्यको सधैं उपेक्षामा पर्दै आएकोमा ढिलै भएपनि प्रदेश सरकारले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेकोमा खुशी व्यक्त गरे । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद बैठक ठोरीमै आयोजना हुनु र ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गर्नु ऐतिहासिक दिन भएको श्रेष्ठले बताए ।
मधेस प्रदेश सरकारको निर्णयले ठोरी गाउँपालिकाका पर्यटकीय स्थललाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेपछि कार्यक्रमका लागि बजेटहरु आउने भएकाले ठोरीका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार निर्माण र व्यवस्थापनमा सहयोग पुग्ने श्रेष्ठले बताए । पर्यटकीय क्षेत्र घोषणापछि देशविदेशमा ठोरीको प्रचार प्रसार हुने र पर्यटकहरुको आवागमन पनि बढ्ने उनको भनाई छ ।
दुईवर्ष अघिसम्म पर्सा जिल्लाकै सबै भन्दा दुर्गम क्षेत्रका रुपमा रहेको ठोरी हुलाकी सडक निर्माणपछि सदरमुकाम वीरगन्जसँगको सडक सम्पर्कमा जोडिएपछि आवतजावतमा पनि सहज भएको छ । जंगल र पहाडको काखमा रहेको ठोरीमा छिमेकी मुलुक भारतबाट पर्यटकहरु आउने गरेका छन् । अंग्रेजी नयाँ वर्षको दिन भारतको विभिन्न सहरहरुका लागि ठोरी पर्यटकीय गन्तव्य बनेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रियसँगै जोडिएको ठोरीमा आकर्षक पर्यटकीय गन्तव्यहरु राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबास लगायत दुई दर्जन भन्दा बढी रमणीय प्राकृतिक पर्यटकीय स्थलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्