गाडी भाडा बढाउने तयारी «

गाडी भाडा बढाउने तयारी

सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ । स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ । यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादरमा परिवर्तन हुने छ ।
विभागले वैज्ञानिक भाडादर लागू गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको छ । विभागले तयार गरेको प्रस्तावमा हालको अवस्थामा करिब ११ देखि १३ प्रतिशत सम्म भाडा समायोजन (वृद्धि) गर्न सिफारिस गरिएको छ । सरोकारवाला निकायसँगको छलफलबाट यस्तो प्रस्ताव गरिएको विभागले जनाएको छ ।
“अध्ययन समिति नै बनाएर वैज्ञानिक भाडादर समायोजन प्रणाली विकास गरेका छौं,” यातायात विभागका महानिर्देक नमराज घिमिरेले भने, “पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धिका कारण भाडा वृद्धि गर्नको लागि यातायात व्यवसायीहरुको माग गर्दै आएका छन् । हरेक पटक माग राखेर भाडादर घटाउने र बढाउने गर्नुभन्दा इन्धन तथा अन्य पार्टपुर्जाको मूल्य वृद्धिको आधारमा स्वचालित भाडा समायोजन प्रणाली विकास गरेर मन्त्रालयमा पेश गरेका हौं ।”
स्वचालित प्रणाली लागू भएपछि इन्धनको मूल्य वृद्धि हुनेबित्तिकै भाडादरमा पनि वृद्धि हुने उनले बताए । हरेक वर्षको अन्तिम महिना (चैत)मा इन्धनबाहेक पार्टपुर्जालगायतका १३ वटा सूचकको आधारमा भाडा समायोजन गर्ने गरी मन्त्रालयमा सिफारिस भएको महानिर्देशक घिमिरेले बताए । पछिल्लो समय पार्टपुर्जा तथा इन्धनको मूल्यमा भएको वृद्धिले गर्दा यातायात व्यवसायीले मूल्य समायोजन सम्बन्धी मापदण्ड तयार गर्न माग गर्दै आएका थिए । पछिल्लो समय सरकारले गत २७ असारमा सार्वजनिक सवारीको भाडा वृद्धि गरेको थियो । लामो दूरीको सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्