Logo

निर्वाचन समयमै हुन्छ, शंका गर्नु पर्दैन : प्रम

स्याङ्जा – प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समय सीमाभित्रै स्थानीय तहसहित सबै तहको निर्वाचन हुने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन हुने कुरमा शंका नगर्न समेत सबैमा आग्रह गरे ।
“करिब दुई तिहाई जनमत नजिकको ओली सरकारले असंवैधानिक तबरबाट पटक–पटक प्रतिनिधिसभा भंग गरेपछि विशेष परिस्थितिमा यो सरकार बनेको हो,” प्रधानमन्त्री देउवाले भने, “विशेष परिस्थितिमा बनेको सरकार आफ्नो दायित्व पूरा गर्छ, शंका गर्न आवश्यक छैन समय सीमाभित्र निर्वाचन हुन्छ ।”
स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको छ, निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र बनाउनु हामी सबैको समान दायित्व भएको बताउँदै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सबैको सहयोग भएमा निर्वाचन समयमै सफलतापूर्वक सम्पन्न हुने बताए ।
स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
“स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले भने, “स्थानीय सरकारले संघीयताको मर्मअनुसार जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।”
चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालिगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको उनले बताए । उनले कृषिमा प्रचुर सम्भावना भएको चापाकोटमा कृषिक्रान्ति आवश्यक रहेको बताए ।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त साझेदारीमा पाँच करोड ५० लाखमा भवन निर्माण सम्पन्न भएको हो । १६ रोपनी क्षेत्रफलमध्ये झण्डै एक रोपनी जग्गामा निर्माण भएको तीन तले भवनमा ३८ वटा कोठा रहेको चापाकोट नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्