सुनसान बन्दै त्रिभुवन राजपथ

नेपालको पहिलो राजमार्ग भनेकै त्रिभुवन राजपथ हो । भारत सरकारको सहयोगमा विक्रम संवत् २०१३ मा बनेको यो राजमार्ग पहिलो राजमार्ग पनि हो । काठमाडौंदेखि तराई अर्थात् वीरगन्जसम्म जोड्ने करिब १ सय ८८ किलोमिटर लम्बाइको यो राजमार्ग छिटो–छरितो राजमार्ग पनि हो । यसलाई बाइरोडको बाटो भनेर पनि चिनिन्छ ।
आजभन्दा धेरै वर्षअगाडि विभिन्न खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुहरू विभिन्न नाका हुँदै यो राजमार्गबाट राजधानीमा प्रवेश हुन्थ्यो । त्यतिबेला सवारी साधनको चाप अर्थात् आवागमन पनि अत्यन्तै हुने गथ्र्यो । यस राजमार्गमा पर्ने धादिङ, मकवानपुर र आसपासका ठाउँहरूमा यातायातका साधनको राम्रो सुविधा पनि थियो । तर, यो बाइरोडको बाटो निकै साँघुरो भएका कारण ठूला सवारी साधनहरूलाई साइड दिन निकै गाह्रो हुन्थ्यो । सवारी साधन आउँदा अलि परबाटै कुनै छेउकुना लगाएर साइड दिनुपथ्र्याे भने सवारी साधनहरूको पनि उत्तिकै जाम हुने गथ्र्यो ।
यस राजमार्गमा पर्ने सबैभन्दा खतरनाक बाटो भनेकै सात घुम्ती हो । सातवटा खतरनाक घुम्ती यस राजमार्गबाट पार गर्नुपर्छ । विभिन्न कालखण्डमा यस सात घुम्तीमा धेरै खतरनाक सवारी दुर्घटना भएको हामीले विभिन्न सञ्चारमाध्यममा सुन्दै र देख्दै आएका हौं । त्यसैले यो अत्यन्तै डरलाग्दो घुम्ती पनि हो । त्यसअनुरूप पछि समय बित्दै जाँदा, तराई जोड्ने धेरै मध्यपहाडी लोकमार्गहरू बन्दै जाँदा यो मार्ग पछिल्लो समय भने निकै सुनसान बनेको अवस्था छ । तराई जोड्ने विभिन्न सहायक मार्गहरू निर्माण भएसँगै यो राजमार्गमा पनि सवारी साधनहरूको चाप ह्वात्तै घटेको छ ।
नारायणगढ–मुग्लिन सडक बनेको छ । बीपी राजमार्ग बनेको छ । फर्पिङ, दक्षिणकाली हुँदै हेटौंडा निस्कने बाटो बनेको छ । अबको केही महिनाभित्रै चन्द्रागिरी हुँदै चित्लाङ निस्कने सहज सडकमार्ग बन्नेछ । यसले गर्दा निकै छोटो समयमा चित्लाङ, कुलेखानी, मार्खु, बिसिङ्खेल, मकवानपुरको थाहा नगरपालिका, बज्रवाराही बजार, कुन्छाल टिस्टुङ–पालुङ, शिखरकोट, दामन हुँदै हेटौंडादेखि वीरगन्ज सहज रूपमा आउजाउ गर्न सकिन्छ ।
तर, पछल्लो समय सवारी साधनको अवस्था भने यस त्रिभुवन राजपथमा निकै कम मात्रामा मात्र देख्न सकिन्छ । राजमार्गमा चौपायाहरू खुला रूपमा देखिन्छ । बालबच्चाहरू सडकमा नै खेलिरहेको देख्न सकिन्छ । सवारी आवागमन पातलो हुँदा लालीगुराँस फुल्ने यो चैतको मौसममा मानिसहरू कोही लालीगुँरास टिपिरहेका देख्न सकिन्छ । त्यतिमात्र होइन, अहिले यो राजमार्गमा प्रायःजसो मानिसहरू आफ्नो निजी सवारी साधन वा रिजर्भ लिएर मात्र आउने–जाने गरेको देख्न सकिन्छ ।
यस राजपथमा नौबीसेदेखि केही ठाउँमा सडक बिग्रिएको छ भने मकवानपुरको थाहा नगरपालिका आएपछि सडक निकै राम्रो देखिएको छ । यहाँको प्राकृतिक सौन्दर्यले पनि निकै आनन्दित तुल्याउँछ । चारैतिर हरियाली डाँडाहरूमा राताम्य भएर ढकमक्क रूपमा लालीगुराँस फुलेकोे देख्न सकिन्छ । केही ठाउँमा तामाङ समुदायको बसोबास भएकाले सोहीअनुसारकै रहनसहन देख्न सकिन्छ । बालबच्चाहरू सडकको छेउछाउमा हातमा लालीगुँरास लिएर आन्तरिक पर्यटकहरूलाई स्वागत गर्दै बसिरहेको देख्न सकिन्छ भने कसैले लालीगुराँस किनेर पनि काठमाडौंसम्म लाने गरेका छन् । जंगलमा विभिन्न थरीका चराचुरुंगीको आवाजसँगै टिस्टुङ, कुन्छाल हुँदै बायाँपट्टि लागे पछि बज्रवाराही बजार पुगिन्छ । कुन्छालदेखि बज्रबाराहीसम्म त बाटो कच्ची हुनाले धेरै धूलैधूलो भएको छ ।