सैनामैना क्षेत्रको आर्थिक समृद्धिमा पर्यटनको महत्व

अर्धसहरी क्षेत्रका रूपमा रहेको सैनामैना नगरपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् ।
प्राचीन महामुनि कपिलको नामबाट चिनिने प्राचीन कपिलवस्तु अनेकौं चिन्तक, साधकका साथै दार्शनिकहरूको जन्मभूमि, कर्मभूमि र साधनाक्षेत्रका रूपमा परिचित भएको पाइन्छ । सो क्षेत्रअन्तर्गत सैनामैना पनि सुपरिचित छ । एसियाका तारा वा बुद्धधर्मका प्रतिपादक सिद्धार्थ गौतम बुद्धको इ.पू. ५६३ मा लुम्बिनीमा जन्म हुनु यसै क्षेत्रका अतिरिक्त नेपालका लागि गौरवको विषय हो । विभिन्न कालखण्डमा विभिन्न शासकबाट शासन भए तापनि हाल रुपन्देही जिल्लाका स्थानीय निकायहरूमध्ये सैनामैना नगरपालिका महत्वपूर्ण विशेषता र पुरातात्विक सम्पदाका रूपमा रहेको छ ।
सैनामैना क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक धरोहरका रूपमा अवस्थित छ । सैनामैना नगरपालिका विश्व शान्तिका अग्रदूत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थलदेखि करिब १५ किमि उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित रहेको छ । पर्रोहा र दूधराक्ष गाविस एकआपसमा गाभिन गई २०७१ साल वैशाख २५ गते सैनामैना नगरपालिक बनेको पाइन्छ । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पुनर्संरचनापश्चात् साबिकको सालझन्डी गाविस गाभिन गई बृहत् सैनामैना नगरपालिको स्थापना भएको पाइन्छ । सैनामैना नगरपालिका १६२.१८ वर्गकिमि क्षेत्रफलमा फैलिएको भूगोललाई स्थानीय सेवा प्रवाहको पहुँचका दृष्टिले ११ वटा वडा कायम गरी प्रशासनिक संरचना स्थापना पाइन्छ । वि.सं. २०७८ सालको प्रारम्भिक जनगणनाको नतिजाअनुसार सैनामैना नगरपालिकाको महिलाको जनसंख्या ४१ हजार ९ सय ३० र पुरुषको जनसंख्या ३६ हजार ५ सय ४७ रहेको छ भने कुल जनसंख्या ७८ हजार ४ सय ७७ रहेको पाइन्छ ।
अर्धसहरी क्षेत्रका रूपमा रहेको सैनामैना नगरपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । यस नगरपालिकाको दक्षिण भागमा बहुसंख्यक आदिवासी थारु जातिको बसोबास रहेको छ भने उत्तरी भेगमा मिश्रित खालका जातजातिहरूको बसोबास छ । विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरू रहेको यो नगरपालिकाको गहनाका रूपमा ऐतिहासिक पुरातात्विक सैनामैना क्षेत्र, स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठमन्दिरहरू, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि छन् । यस नगरपालिकाको अधिकांश क्षेत्र खेतीयोग्य अति उर्वर जमिनले ओगटेको भए पनि पछिल्ला वर्षहरूमा सहरीकरणको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ ।
सुन्दर तथा अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर मात्रामा जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण यो नगर नेपालको पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा सुपरिचित छ ।
नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसाय आफैंमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकाले यस व्यवसायको विविधीकरण र विस्तारद्वारा आमनागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भएको छ । यस प्रयोजनार्थ एकातर्फ नेपालका यी विविध सम्पदाको समुचित संरक्षण र संवद्र्धन गर्नु अत्यावश्यक भएको छ भने अर्कातर्फ प्राकृतिक ताल, तलैया, सीमसार क्षेत्र तथा नदीहरू र हरियाली, अत्यन्तै नजिकबाट अवलोकन गर्न सकिने रमणीयतामा आन्तरिक तथा बाह्य पर्यटकहरूको भ्रमण हुने गर्छ ।
यहाँ भएका प्रमुख नदी-खोलाहरूमा घमाहा खोला, सुकौली खोला, बौराहा खोला, तुलबुलिया खोला, इङ्गुरिया खोला, बनरहवा खोलाहरू रहेका छन् ।
यस नगरपालिकामा विभिन्न जाति, धर्म सम्प्रदाय र वेशभूषाका मानिसहरू बसोबास गर्छन् । यहाँ अधिकांश हिन्दू धर्म मान्ने पहाडी र मधेसी मूलका मानिसहरू रहेका छन् भने त्यस्तै मुस्लिम र क्रिस्चियन धर्म मान्ने मानिसहरू पनि छन् । सबै जातजाति र सम्प्रदायका आ–आफ्नै खाले धर्म–संस्कृति र चालचलनहरू छन् । जसमा बडादसैं, तिहार, रामनवमी, महाशिवरात्री, हरितालिका, श्रीपञ्चमी, श्रीकृष्ण जन्माष्टमी, विवाह पञ्चमी, छठ, होली, चैते दसैं, साउने–माघे संक्रान्ति, माघी, गोठधूप, मातातीर्थ औंसी, अक्षय तृतीया, हरिशयनी–हरिबोधनी एकादशी, नागपञ्चमी, रक्षाबन्धन (जनैपूर्णिमा), कुशेऔंसी, बालाचतुर्दशी, कोजाग्रत पूर्णिमा, गोठाले, श्री स्वस्थानी पूर्णिमा, नयाँ वर्ष सोह्रश्राद्ध जितिया, सिरुवा (विशेष गरी थारु–खवास), कुल–थानी पूजा, ग्रामथान पूजा, करवा चौथ, कर्कट संक्रान्ति, भुर्की पूजन, संकट पूजा, बुद्धजयन्ती, विभिन्न ल्होसार पर्वहरू, बारारवि अवल, सुवरात, इद, वकरइद, मोहरम, ग्यारही सरिफ, इदुलफितर, क्रिसमस डे, नयाँ वर्ष, भ्यालेनटाइन डे आदि ।
धार्मिक स्थलहरूमा पर्रोहा परमेश्वर धाम, मलमला धाम, किराँतेश्वर महादेव मन्दिर, कोटिया थान, कर्साघाट तीर्थक्षेत्र, कोटियामाई मन्दिर, लखनपारा, भैरवनाथ मन्दिर, दुर्गामन्दिर मुर्गिया, रैनादेवी मन्दिर, कालमोचन मन्दिर, दुर्गामन्दिर रामापुर, बुद्धविहार, बुद्ध सालिक, दुर्गाभवानी मन्दिर वनकट्टा, पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग शिवालय बोलबम धाम, भाषा, कला, संस्कृति र परम्पराहरूमा थारु होमस्टे उचडिहवा, गोरवाल कोटियार्माथान, सत्चिन्तन सामुदायिक प्रतिष्ठान रामापुर, लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय, पदमपाणि आश्रम तथा प्राकृतिक चिकित्सा पद्धति, डिउहार मुडाबाबा, सरोली कुटी, प्राकृतिक तथा सांस्कृतिक सम्पदा क्षेत्र वा स्थानहरूमा राजापानी सीमसार क्षेत्र, लामीरह, सैनामैना पर्यावरणीय तथा सांस्कृतिक संग्रहालय, कोटियामाई थान बक्सडाँडा, फूलबारी योग आश्रम, सैनामैना बालउद्यान पार्क, बोलबम हिलपार्क, पर्सवाल (गर्भधारण शक्तिबर्दिनी महौषधि बतैचि वृक्ष) चौतारी डिउहार कुवा क्षेत्र, सैनामैना समावेशी पार्क, लुम्बिनी प्रवेशद्धार, सालझन्डी पर्यटकीय पार्क, मेघाताल, बुद्धनगर डिउहार र कुवा, झिँगामार बौद्धगुम्वा रेशममार्ग, सैनामैना पुरातात्विक क्षेत्र आदि प्रमुख हुन् ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोरोना महामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ ।
सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नका लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।
समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, सांस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।
यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ, जसबाट यस क्षेत्रका जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।
भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्र विश्वमा परिचित नभई वीर गोर्खाली, पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रका रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको सङ्गम स्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलका रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो ।
यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सैनामैना क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना प्राकृतिक सौन्दर्यको अनुपम उपहार सैनामैना क्षेत्र हो ।
यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन बजेटको अभावमा सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था विकास गर्नुपर्ने अवस्था छ ।
त्यसैले सैनामैना क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित पर्यटकीय गुरुयोजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरनगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । सैनामैना नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य स्रोत र साधनले भ्याएसम्म गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरेर अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै सैनामैना नगरपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ, जसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाको रूपमा सैनामैना क्षेत्रलाई विकास गर्न सकिन्छ । पूर्वधारको विकाससँगसगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । अतः यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्नेछ ।