इजेड रेमिट र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता

ई–सेवा मनि ट्रान्सफर र बिएफसी बैंकअन्तर्गतको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने भएको छ । सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इजेड रेमिटका तर्फबाट मुख्य वित्त अधिकारी समेत रहेका कार्यबहाक सीइओ मुजाहिद मलिकले हस्ताक्षर गरेका छन् ।
इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध भएमा मुलुकमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले नेपालमा पैसा पठाउँदा सोझै पाउने व्यक्तिको बैंकको खातामै डिपोजिट गर्न मिल्नुका साथै ई–सेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिन्छ ।
इजेड रेमिटको शाखाहरूबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र ई–सेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिनेछ । साथै, पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरेर ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । रकम प्रभु भ्यानेजमेन्ट अन्तर्गत रहेका सहकारी संस्थाहरूबाट समेत भुक्तानी लिन सकिनेछ ।
सन् २००३ मा स्थापित इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गरिरहेको रेमिट कम्पनी हो । यो बहराइनमा रहेको बिएफसी ग्रुप होल्डिंस (बिएफसी) ग्रुपको मातहतमा रहेर सञ्चालन हुँदैछ ।