Logo

अन्तर्राष्ट्रिय विमानसेवाका लागि काठमाडौंको विकल्प लुम्बिनी बन्छ

शिलान्यास भएको सात वर्षपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रायः सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक सबै पूर्वाधार निर्माण तयार अवस्थामा छन् भने उडान र अवतरणका लागि आवश्यक विद्युतीय उपकरणहरू सबै जडान भई परीक्षण पनि भइसकेको अवस्था छ । यान्त्रिक उपकरणहरूको परीक्षण (क्यालिब्रेसन) सम्पन्न भई प्रारम्भिक प्रतिवेदनले ग्रिन सिग्नल पाइसकेको छ भने अन्तिम रिपोर्टसमेत यसै साता आउने बताइएको छ । विमानस्थलबाट छिटै परीक्षण उडान र व्यावसायिक उडान गर्ने कार्यको तयारीमा व्यवस्थापन समूह लागेको छ । २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतम बुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट आईसीबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थल विभिन्न कारणले समयमै सम्पन्न हुन नसकेपछि बारम्बार निर्माण सम्पन्न गर्ने तिथि पछि धकेलिँदै गइरहे पनि हाल सम्पन्न भएको अवस्था छ । यसै विषयमा केन्द्रित रही नागरिक उड्डयन प्राधिकरण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका महाप्रबन्धक गोविन्दप्रसाद दाहालसँग कारोबारकर्मी मनोरञ्जन शर्माले गरेको कुराकानीको सार :

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले के काम भइरहेको छ ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजनाको काम प्रायः सम्पन्न भएको अवस्था हो अहिले । केही फिनिसिङ तथा सौन्दर्यकरण गर्ने र मेसिनरी सामानहरू जडान गर्ने, फर्निचरहरू जडान गर्ने, कार्यालय स्थापना गर्ने कामहरू भइरहेका छन् । हामीले पनि नयाँ प्रशासकीय भवनबाट दैनिक कार्य सम्पादन सुरु गरिसकेका छौं । क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) कार्य सम्पन्न भइसकेको छ । प्रारम्भिक प्रतिवेदन आएको छ । अब यसै साता अन्तिम प्रतिवेदन एरो थाई कम्पनीले बुझाउँदै छ । अब हामी परीक्षण उडानलगायतका काममा जुटेका छौं । यसरी सबै काम राम्रोसँग हुँदै गए तोकिएकै समयमा परीक्षण र व्यावसायिक उडान हुन्छ । आशा गरौं, सबै राम्रो हुनेछ र समयमै हुनेछ ।

क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ । प्रारम्भिक प्रतिवेदनमा के आएको छ विमानस्थलका बारेमा ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाअन्तर्गत आईसीबी टु प्रोजेक्टअन्तर्गत एरो थाई कम्पनीले विद्युतीय उपकरण जडान तथा यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) को जिम्मेवारी पाएको थियो । सोहीअनुसार गत फागुन ६ गतेदेखि १६ फागुनसम्म क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको थियो । एरो थाई कम्पनीले थाइल्यान्डबाट प्राविधिकसहित हवाईजहाज ल्याएर जडित उपकरणहरूको परीक्षण (जसलाई हामी क्यालिब्रेसन फ्लाइट पनि भन्छौं) सम्पन्न गरेको छ । एरो थाई कम्पनीले प्रारम्भिक प्रतिवेदनसमेत बुझाइसकेको छ । प्रारम्भिक प्रतिवेदनमा जडान भएका सबै उपकरणले उत्कृष्ट काम गरेको उनीहरूले जनाएका छन् । अब अन्तिम प्रतिवेदनको प्रतीक्षामा हामी छौं, अन्तिम प्रतिवेदन यसै साता आउने जस्तो छ, त्यसपछि बाँकी अन्य कामहरू अघि बढ्छन् । यान्त्रिक उपकरण परीक्षण (क्यालिब्रेसन) सफल भएपछि हामी निकै उत्साहित भएका छौं, एक किसिमले भन्दा अब अन्तर्राष्ट्रिय विमानस्थल तयार भयो, उडानका लागि भनेर हामीले बुझ्न सक्छौं ।

क्यालिब्रेसन फ्लाइटपछिको बाँकी प्रक्रिया के हुन्छ अब ?
क्यालिब्रेसन फ्लाइटपछिको बाँकी प्रक्रिया भनेको अब अन्तिम प्रतिवेदनको पर्खाइ पहिलो हो र त्योसँगै हामी परीक्षण उडानको तयारीमा छौं । अन्तिम प्रतिवेदनमा पनि प्रारम्भिक प्रतिवेदनजस्तै आउनेमा हामी विश्वस्त छौं । सुरुको प्रतिवेदनमा उपकरणहरूमा त्यस्तो कुनै त्रुटि फेला नपरेको र सबैले काम राम्ररी गरेको पाइएको थियो । हामीले क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) मा पनि पठाइसकेका छौं । अन्तिम प्रतिवेदनपछि आइकाओले अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योग्य रहेको जनाउ दिन्छ । अब हामी परीक्षण उडानको तयारीमा जुटेका छौं ।

कहिले हुन्छ परीक्षण उडान र कसरी गर्ने योजना छ ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान २०७९ साल वैशाख १ गते बिहीबार गर्ने गरी तयारी भइरहेको छ । परीक्षण उडान हाम्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी विमानले गर्नेछ । परीक्षण उडान भनेको रनवेअनुसारका विमानहरू उडान अवतरण गर्न सक्छन् या सक्दैनन् भन्ने परीक्षण साथै हवाईमार्ग पनि एक किसिमले परीक्षण गर्नु नै हो । परीक्षण उडानमा विमान सेवा कम्पनीका चालक दलका सदस्यका साथमा विशिष्ट व्यक्तिहरूसमेत आउन सक्नुहुनेछ । परीक्षण उडानका लागि अन्यत्रबाट विमान आउने नभई काठमाडौँबाटै विमान आउने हो र यहाँ अवतरण गरी पुनः काठमाडांैका लागि उड्ने हो । त्यसैले अब हाम्रो ध्यान परीक्षण उडान सफल गराउनतिर केन्द्रित छ । यसका लागि हाम्रो नागरीक उड्डयन प्राधिकरणको सिंगो टिम परीक्षण उडानको तयारीमा जुटेको छ । क्यालिब्रेसन फ्लाइटको सफलतापछिको अबको महŒवपूर्ण काम भनेको परीक्षण उडान हो र यसमा पनि हामी सफल हुन्छौं, कुनै दुविधा छैन । परीक्षण उडानको तयारी भइरहेको छ । नेपाली जनताले नववर्ष २०७९ को पहिलो दिन वैशाख १ गते भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सफलतासाथ सम्पन्न भएको खबर सुन्न पाउनुहुनेछ र अन्तर्राष्ट्रिय जगत्ले पनि यो खबर सुन्न पाउनेछन् ।

परीक्षण उडान भएलगत्तै व्यावसायिक उडान सुरु हुन्छ त ?
परीक्षण उडान सम्पन्न भएको एक महिनापछि अर्थात् जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै सोही दिन व्यावसायिक र केही चार्टर्ड उडान गर्ने तयारी भइरहेको छ । वैशाख १ गते परीक्षण उडान र २ गते व्यावसायिक उडानको सुरुवात गर्ने हो । हामी त्यसको पनि तयारीमा जुटेका छौं । अहिले स्वयं विभागीय मन्त्री प्रेमबहादुर आले यसको तयारीमा आफै जुट्नुभएको छ । जेठ २ गते बुद्धजयन्ती पनि भएको र सारा विश्वभरका बुद्धिष्टहरूको ध्यान बुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रित हुने भएकाले पनि सोही दिन उद्घाटन र व्यावसायिक उडान गर्ने सोचका साथ हामी अघि बढेका छौं । विमानस्थलको उद्घाटन मात्रै होइन, व्यावसायिक उडान पनि हुन्छ । कम्तीमा ६ देखि ८ वटा उडान त्यो दिन गराउने तयारी भइरहेको छ । आशा गरौं, सबै राम्रो हुनेछ ।

यति छोटो अवधिमा व्यावसायिक उडान सम्भव छ त ?
व्यावसायिक उडान सम्भव छ । इच्छाशक्ति भए सबै चिज हुन्छ । अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण कार्यालय मात्र होइन, सरकारको ध्यान नै केन्द्रित छ । परीक्षण उडान सम्पन्न भएको एक महिनामै व्यावसायिक उडान, चाहे त्यो चार्टर्ड नै किन नहोस्, त्यसबाट पनि सुरुवात गर्छौं हामी । जति छोटो समय भन्यो त्यति बढी काम हुन्छ । पछिल्लो समय विमानस्थल आयोजना कार्यालयले कोरोना संक्रमणका बाबजुद छोटो समयमा क्यालिब्रेसन फ्लाइट सम्पन्न गराएरै देखायो, यो हो इच्छाशक्ति भनेको । यही इच्छाशक्ति बोकेर हिँडे सबै ठाउँमा सफल भइन्छ ।

व्यावसायिक उडानका लागि कुन–कुन विमानसेवा कम्पनीले अग्रसरता देखाएका छन् ?
भैरहवाबाट कुबेत दैनिक एक उडान गर्न जजिरा एयरले प्रस्ताव पठाइसकेको छ । अहिले त्यो प्रस्तावमाथि अध्ययन भइरहेको छ । परीक्षण उडानअगावै विश्वस्तरको विमानसेवा कम्पनीले उडान गर्न पाऊँ भन्दै निवेदन हाल्नु ठूलो कुरो हो । विश्वका विभिन्न विमानसेवा कम्पनीहरूले यहाँबाट उडान गर्नका लागि चासो देखाइरहेका छन् । तीमध्ये फ्लाई दुबई, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल प्रमुख रहेका छन् । श्रीलंका र थाइल्यान्ड बुद्धिस्ट मुलुक हुन् र स्थलमार्गबाट बढी पर्यटक यही देशबाट आउने गरेको तथ्यांक पनि छ । त्यसैगरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम साथमा छँदै छ । माथिका विदेशी विमानसेवा कम्पनीमध्ये केही त यही विमानस्थलमा आफैं आएर वा प्रतिनिधिमार्फत अवलोकन गरेर गइसकेका छन् । त्यसैले पनि व्यावसायिक उडान सफल हुनेमा हामी विश्वस्त छौं, जसरी अहिले मेहनत गरेका छौं त्यसैअनुसार सफल पनि भइरहेका छौं । जेठ २ गते उद्घाटनसँगै व्यावसायिक उडान सुरु हुन्छ । ढुक्क हुनुस्, विभिन्न देशका विमानहरू भैरहवा अवतरण हुनेछन् त्यो दिन ।

अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिन के काम भएको छ ?
भैरहवामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई क्यालिब्रेसनसमेत भइसकेको अवस्थामा रहेको जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणमा जानकारी गराई फागुन २६ गते एरोनटिकल इन्फरमेसन पब्लिकेसन्स (एआईपी) मा प्रकाशित गरिसकेका छौं । यसले विश्वभरि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भई सञ्चालनको प्रक्रियामा रहेको थाहा भइसकेको जानकारी दिएको छ र छिटै प्रक्रिया पुगेपछि आइकाओले पनि अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सूचीकृत गर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा भएको हो त भैरहवाको विमानस्थल ?
निश्चय पनि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमै आएको हो भनेर बुझ्नुपर्छ । किनभने आउँदो वैशाख ७ गतेबाट कुनै प्राविधिक समस्याले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने विमानहरू अन्यत्र डाइभर्ट हुनु पर्दैन, यही गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन्छन्, त्यसको तयारी भइसकेको छ । काठमाडौँबाट पहिला डाइभर्ट हुनुपर्दा लखनउ, दिल्ली, ढाका जानुपथ्र्याे र विमानसेवा कम्पनीको खर्च बढ्थ्यो । अब वैशाख ७ गतेबाट डाइभर्ट सीधै भैरहवा गर्न मिल्ने तयारी गरिएको छ । यो भनेको काठमाडांैको विकल्प नै हो । अब जबसम्म राति काठमाडौंको विमानस्थल बन्द हुँदैन त्यहीअनुसार यो विमानस्थल खुला हुन्छ । हामीहरू सबै तयारी अवस्थामा रहेका छौं ।

अन्य कार्यहरू कसरी अघि बढेका छन् ?
अहिले अन्य सबै प्रशासनिक कामहरू भइरहेका छन् । अध्यागमन, भन्सार, सुरक्षा निकाय, क्वारेन्टाइन, मौसम विभाग, स्वास्थ्य, श्रमलगायतका सबै सरोकारवाला निकाय कार्यालयहरूसँग अहिले छलफल भइरहेको छ । कतिपयले दरबन्दीअनुसारका जनशक्ति पनि पठाइसकेको अवस्था रहेको उनीहरूको भनाइ छ । यो विमानस्थलबाट जहाज उडान र अवतरणका लागि हामीलाई आवश्यक जनशक्ति दरबन्दी कायम भइसकेको छ र जनशक्ति आउने क्रम जारी छ । प्राविधिकहरूले तालिम प्राप्त गरिसकेका छन् । सुरक्षा निकायमा सबै आइसक्नुभएको छ । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग सबैको समन्वय छ अहिले । उता भन्सार र अध्यागमनको काम पनि भइरहेको छ । आयल निगमले आवश्यकताअनुसारको हवाई इन्धन आपूर्ति गर्ने प्रतिबद्धता जनाई विमानस्थल डिपोको क्षमता बढाएको छ । कार्गो भवन निर्माण सम्पन्न भएको छ । सबै कामहरू एकसाथ समानान्तर तरिकाले भइरहेका छन् ।
अहिलेलाई विमानस्थल साढे १८ घण्टा सञ्चानलमा ल्याउने प्रस्ताव गरिएको छ भने विमानस्थलमा उडान तथा अवतरण गर्ने र पार्किङ गर्ने विमानसेवा कम्पनीहरूलाई पहिलो वर्षका लागि विशेष छुटको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएकोमा स्वीकृत भई आएको छ ।

अन्त्यमा केही छन् भन्नुपर्ने कुरा ?
यो विमानस्थल यस क्षेत्रको गौरवसँग जोडिएको विषयवस्तु हो । यहाँको समृद्धि मात्रै होइन, देशकै अर्थतन्त्रलाई यसले अघि बढाउन मद्दत गर्छ । जसरी विमानस्थल निर्माण सम्पन्न गर्न सहयोग गर्नुभयो अब त्यसरी नै विमानस्थल सफलतासाथ सञ्चालन ल्याउन सहयोग गर्नुहोस् । विमानस्थल निर्माणसँगै होटल, पर्यटन क्षेत्रमा अर्बौं लगानी भैरहवा क्षेत्रमा थपिएको छ । त्यो लगानी सुरक्षित हुन पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफलताका साथ सञ्चालन हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्