पाठेघर क्यान्सरबारे महिला अनभिज्ञ «

पाठेघर क्यान्सरबारे महिला अनभिज्ञ

रामेछाप नगरपालिका हिमगंगाकी ४८ वर्षिया रामकुमारी मगरले महिलाको पाठेघरमा धेरै किसिमको रोग लाग्न सक्छ भन्ने सुनेकी थिइन्, तर पाठेघरमा क्यान्सर हुन्छ र त्यसका लागि जँचाइरहनु पर्छ भन्ने कुरा कहिल्यै जानकारी पाएकी थिइनन् । उनले त्यसदिन त्यो कुरा थाहा पाइन्, जुन दिन उनले गाउँमै आएको स्त्रीरोग शिविरमा गएर स्वास्थ्य जाँच गराइन् ।
बज्र समाज नेपालको आयोजना तथा तामाकोशी सहकारी अस्पतालको सहयोगमा गाउँमा शिविर पुगेको थियो । त्यस शिविरमा जाँच गराउन आएका रामकुमारी लगाएत सयौं महिलाहरुले पाठेघरमा क्यान्सर हुन सक्छ र त्यसका लागि बेलाबेलामा जँचाइरहनु पर्छ भन्ने कुराको जानकारी त्यस दिन देखि मात्र पाएका हुन् ।
त्यही शिविरमा उनले आफ्नो पाठेघरमा क्यान्सर भए– नभएको परिक्षण गराएकी थिइन् । सामान्य तरिकाबाट आफ्नो पाठेघरको अवस्थाबारे जानकारी प्राप्त भएपछि उनी अचम्ममा परिन् ।
उनले खुशी हुँदै भनिन्, “शुरुमा त डर लागेको थियो कतै क्यान्सर पो भएको त छैन भनेर । तर पछि स्वास्थ्यकर्मीले केही भएको छैन भनेपछि खुशी लाग्यो । पहिले त यस्तो जानकारी नै थिएन । अब त जानकारी पाएँ, सबैलाई यो कुरा खुलेर सुनाउँछु र आफूजस्तै अन्य महिलालाई पनि सुरक्षित रहन आग्रह गर्छु ।”
पाठेघर क्यान्सरबारे अनभिज्ञ उनी त ग्रामिण समाजकी एक प्रतिनिधि पात्रमात्र हुन् । यस्ता धेरै महिला छन्, जसलाई पाठेघरको क्यान्सरका बारेमा कुनै जानकारी र हेक्का नै छैन । सामान्य अवस्थाकै चरणमा क्यान्सर पहिचान गरी उपचार गर्न सकिने अवस्था भएता पनि त्यसतर्फ सरोकारवालाहरु कमैको मात्र चासो बढ्न थालेको छ ।
जिल्लामा खुलेका र गाउँका युवा एक भएर सहरमा खोलिएका गैसस तथा समन्वय समूहको थोरै लगानीबाट केही ठाउँमा यस प्रकारका शिविरहरु सञ्चालन हुने गरेको भएपनि पनि राज्यकै जिम्मेवार सरकारी निकायहरु भने यसतर्फ सक्रिय बन्न नसकेको तामाकोशी सहकारी अस्पतालका निर्देशक सुमन कर्माचार्य बताउँछन् ।
उनले भने, “गाउँका वा सहरका महिलाहरु संक्रमणको ज्यादै जोखिममा रहेका छन् । महिलाहरुमा जटिल समस्याका रुपमा पाठेघर झर्ने (आङ खस्ने) रोग रहिरहेकै अवस्थामा पछिल्ला दिनमा जिल्लाका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर समेत प्रकोपको रुपमा देखा पर्न थालेपनि यसका बारेमा जागरण शिक्षा पुग्न नसक्दा धेरै महिला पाठेघरको क्यान्सरको समस्याको प्रत्यक्ष मारमा पर्न थालेका छन् । पछिल्ला दिनहरुको तथ्यांकलाई हेर्ने हो भने महिलाहरुमा पाठेघरको क्यान्सर प्रकोप जनचेतनाको कमीकै कारण देखा पर्ने गरेको छ ।”
देशका विभिन्न जिल्लामा शिविर सञ्चालन गर्दै आएको बज्र समाज नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष पूर्णबहादुर मगरले आफ्नो संस्थाले पाठेघर क्यान्सरसँग सम्बन्धित रहेर शिविर सञ्चालन गर्दा अन्य जिल्लाको तुलनामा रामेछापको संख्या कम नै रहेको पाइएको बताए । संकोच र डरका कारण महिलाहरुले रोग लुकाउने गरेको हुँदा यस बारेमा चौतर्फि रुपमा जनचेतना जगाई बहस सञ्चालन गरेर सहज उपचारको प्रबन्ध मिलाउने हो भने महिलाहरुले यस्ता रोगहरु लाकाएर बस्नु नपर्ने उनी बताउँछन् ।
सो संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर रामेछाप नगरपालिकामा ३ दिन फरक˗फरक स्थानमा आयोजना गरेको निःशुल्क स्त्री रोग शिविरमा परिक्षण गर्न पुगेका महिलाहरुमा पाठेघरको कयान्सर भएका केहि महिलाहरु फेला परेको जनाइएको छ । शिविरमा रामेछाप नगरपालिका–५ रामपुरमा परिक्षण गराउने ९३ जनामध्येमा ६ जनामा र वडा नं. १ गोठगाउँमा ९२ जनाको परिक्षणमा १ जनामा पाठेघरको मुखको क्यान्सर देखिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय ग्रामिण भेगका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जाने अवस्था भए पनि त्यसतर्फ सरकारी निकायको ध्यान जान भने सकेको छैन । जिल्लामा दक्ष जनशक्तिको अभाव र आवश्यक उपकरणहरुको उचित प्रबन्ध हुन सक्दा पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि समस्या बनेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापकी सिनीएर अनमी लिला तमाङले बताइन् । स्वास्थ्य संस्थामा सामान्य व्यवस्थापन गरेर रोग परिक्षण गर्न सक्ने अवस्था हुँदा राज्यको माथिल्लो निकायले त्यसतर्फ सोच्नुपर्ने बेला आएको पनि उनले बताइन् ।

रमेश ढुंगेल 

प्रतिक्रिया दिनुहोस्