Logo

रूस र युक्रेन युद्धको आर्थिक प्रभाव

रूस र युक्रेनले पूर्ति सिक्रीमा महत्वपूर्ण कच्चा पदार्थ र अवयवहरूको आपूर्ति गर्ने भएकाले विश्वमा धेरै उद्योग प्रभावित हुने भएका छन् ।

रूस र युक्रेनबीच युद्ध भएको एक महिना भयो तर युद्ध रोकिने भन्ने कुरा अँध्यारो सुरुङको छेउमा बलेको बत्ती पनि देखिने छाँट आएको छैन । अर्थशास्त्रीहरूले समष्टि आर्थिक दृष्टिकोणबाट विश्व अर्थव्यवस्थामा यो युद्धको कारणले पार्ने प्रभावको सम्बन्धमा आकलनहरू गर्न थालेको पाइन्छ । कुल गार्हस्थ्य उत्पादनको हिसाबले रूस विश्वको एघारौं ठूलो देश हो भने युक्रेनको स्थान ६७ मा पर्छ । यस्ले गर्दा विश्व अर्थतन्त्रमा त्यति धेरै प्रभाव नपर्ने अनुमानहरू गर्न थालेको पाइन्छ, किनभने यी दुई देशलाई आर्थिक दृष्टिले पावर हाउसका रूपमा लिने गरिँदैन । विश्वको कुल गार्हस्थ्य उत्पादनमा रूसको योगदान दुई प्रतिशतभन्दा कम छ र युक्रेनको योगदान त रूसको भन्दा धेरै कम भएको पाइन्छ ।
यद्यपि विश्वको तेल बजार र ग्यास बजारमा यी दुवै देशको योगदान क्रमशः १२ र १७ प्रतिशत भएको र यी देशसँग आर्थिक सम्बन्ध भएका देशहरूको अर्थव्यवस्थामा भने यसले मनग्य प्रभाव पार्ने देखिएको छ । युरोपले ४० प्रतिशत ग्यास आयात रूसबाट गर्छ भने करिब २५ प्रतिशत कच्चा तेलको आयात रूसबाट गर्ने गरिएको छ । यसैले रूसलाई ग्यास स्टेसन अफ द वल्र्ड पनि भनिन्छ । अमेरिका, चीन र अरू उदीयमान देशहरूको आर्थिक अवस्थामा यसले कमै मात्र प्रभाव पर्ने अनुमानहरू गरिएका छन् । अक्सफोर्ड इकोनोमिक्सका अर्थशास्त्रीहरूले यो युद्धको कारण विश्व अर्थव्यवस्थामा ०.२ प्रतिशतले कमी आउने अनुमान गरेका छन् । यो युद्धको कारणले रूसको अर्थव्यवस्था दोहोरो अंकले संकुचन हुनेछ, जुन सन् २००९ मा रूसी अर्थव्यवस्था ७.८ प्रतिशतले भएको संकुचनभन्दा बढी हो । युरोपमा यो युद्धको कारणले २० प्रतिशतको हाराहारीमा इन्धनको मूल्यवृद्धि भएको र युरोपमा माग क्षयीकरण भएको र अक्सफार्ड इकोनोमिक्सले कुल गार्हस्थ्य उत्पादन यसअघि अनुमान गरिएको ४.३ प्रतिशतको वृद्धि घटेर ३.७ मा झर्ने अनुमान गरेका छन् र यसमा युरोपको सबैभन्दा ठूलो अर्थ व्यवस्था भएको जर्मनी प्रभावित हुने देखिएको छ । यो युद्धका कारण देशगत रूपमा हेर्ने हो भने उज्बेकिस्तान र कजाकस्थानजस्ता देशहरू जसले रूसबाट आप्रवासी श्रमिकहरूबाट जुन रेमिट्यान्स भिœयाइरहेको थियो, अब त्यसमा कमी आउने भएको छ । रूसको जनसंख्या बूढो हुँदै गएको कारणले यी देशहरूका आप्र्रवासी श्रमिकहरूले रूसबाट अरबौं डलर आफ्नो देश भिœयाइरहेका छन् ।
अर्कातिर रूस र युक्रेनबाट अत्यधिक मात्रामा गहँु आयात गर्नुपर्ने टर्की र इजिप्टजस्ता देशहरू पनि प्रभावित हुनेछन् । योबाहेक पनि टर्कीको पर्यटन उद्योगमा यी दुई देशका पर्यटकहरूको ठूलो योगदान रहेको छ र टर्कीको अर्थव्यवस्था यो युद्धको कारणले अरू संकटमा पर्ने आशंका गरिएको छ । यो युद्धको कारणले टर्कीको अर्थव्यवस्थाको आर्थिक वृद्धिदरमा ०.४ प्रतिशतले कमी आउने आकलन गरिएको छ । तेलको मूल्यमा भएको वृद्धिको कारणले धेरै देशको भुक्तानी सन्तुलन बिग्रनेछ भने तेल निर्यातक देशहरूको आम्दानीमा वृद्धि हुनेछ । विश्वको खाद्यान्न बजारमा रूस र युक्रेनको महत्वपूर्ण योगदान रहँदै आएको छ । दुवै देशहरू मिलेर विश्वमा निर्यात हुने गहुँमा ३० प्रतिशत गहुँको हिस्सा रहेको छ ।
मकै निर्यातमा यिनीहरूको हिस्सा १९ प्रतिशत रहेको छ भने सन् फ्लावर तेल निर्यातमा त ८० प्रतिशत हिस्सा ओगटेको छ । खाद्यपदार्थ प्रशोधनमा यो तेलको व्यापक मात्रामा प्रयोग हुने गर्छ । यो युद्धले यस्ता खाद्य वस्तुहरूको पूर्ति सिक्रीमा जुन अवरोध सिर्जना भएको छ, त्यसले मुद्रास्फीतिको दर बढाउन अरू मद्दत गर्ने भएको छ । रूसका यस्ता खाद्य पदार्थहरू बढीमात्रामा येमन र लिबियाजस्ता देशहरूमा जाने भएकाले अरू देशहरूमा त्यति धेरै असर नहुने आकलन गरिएको छ । युद्धग्रस्त क्षेत्रमा यी बालीहरू भिœयाउने र यिनीहरूको प्रशोधन गर्ने कार्य बन्द भएपछि यसले निर्यातमा स्वतः प्रभाव पार्ने हुन्छ । रूसको रासायनिक मलको आपूर्तिमा भएको योगदानले रूसमाथि लगाइएको नाकाबन्दीले धेरै देशको कृषि उत्पादन पनि मनग्य प्रभावित हुने देखिएको छ ।
यी दुई देशहरूको विश्वमा फलाम, तामा र निकल निर्यातमा पनि महŒवपूर्ण स्थान रहँदै आएको छ । यो युद्धले प्रभावित हुने अर्को क्षेत्र भनेको मोबाइल, सवारी साधन र दन्त उपचार पनि हो । मोबाइल फोन, मोटर गाडी र फ्रिजहरूमा उपयोग हुने स्वचालित एक्जस्ट सिस्टम र दाँत भर्नका लागि चाहिने कच्चा पदार्थ प्यालाडियम गत डिसेम्बरमै मूल्य चर्को रूपमा बढेकोमा यो युद्धले अरू बढ्ने भएको छ । रूस र यक्रेनले नियन, प्लेटनियम र प्यालाडियम निर्यातमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, जुन माइक्रोचिप्स बनाउने उद्योगहरूका लागि पनि अति आवश्यक छ । गत वर्ष नै माइक्रोचिप्सको अभावमा धेरै उद्योग प्रभावित भइसकेका थिए । केही विश्लेषकहरूले यो अभाव यो वर्ष हट्ने आशावादी प्रक्षेपण गरेकोमा यो युद्धले तुसारापात भएको छ । अमेरिका, बेलायत र युरोपका अन्तरिक्ष उद्योगहरूका लागि आवश्यक टिटानियमको आपूर्तिका पनि रूसको महत्वपूर्ण योगदान रहँदै आएको पाइन्छ । रूस र युक्रेनले पूर्ति सिक्रीमा महत्वपूर्ण कच्चा पदार्थ र अवयवहरूको आपूर्ति गर्ने भएकाले विश्वमा धेरै उद्योग प्रभावित हुने भएका छन् । रूसलाई अमेरिका र युरोपियन युनियन तथा बेलायतले लगाउने नाकाबन्दीले यसको अर्थ व्यवस्थामा वित्तीय लागत बढोत्तरी गर्नु र उसको आर्थिक आधारलाई स्क्विज गर्नु हो । केही महत्वपूर्ण क्षेत्रहरूमा यिनीहरूको उपस्थितिलाई अर्थपूर्ण दृष्टिले हेर्ने गरिएको छ ।
एक जना वित्त विशेषज्ञ नासिर अमिनुले यो युद्धको वित्त बजारमा पर्ने असरका बारेमा पनि चर्चा गरेको पाइन्छ । रूसका बैंकहरूले उपयोग गर्दै आएको स्विफ्ट मेसेजिड सिस्टमलाई बन्द गरेपछि रूसबाट हुने अन्तर्राष्ट्रिय भुक्तानीहरू बन्द हुने भयो । यति मात्र होइन कि रूसले विदेशी बैंकहरूसँग सय अर्बभन्दा बढी रकमको ऋण लिएको र यसले गर्दा धेरै युरोपियन बैंकहरू समस्यामा पर्ने भएको छ । खास गरेर फ्रान्स र इटालीका बैंकहरूको मात्र पनि रूससँग २५ अर्ब भन्दा बढीको ऋण रहेको पाइन्छ । रूसका धनाढ्यहरूको पैसा जम्मा गर्ने वा सम्पत्ति थुपार्ने र नगद रकम पठाउने देशहरूमा स्वीजरल्यान्ड, साइप्रस र बेलायत पर्छन् र यस्ता देशका वित्तीय संस्थाहरू धेरै प्रभावित नाकाबन्दीले हुने देखिएको छ । शेल र बीपीजस्ता कच्चा तेलमा काम गर्ने कम्पनीहरूले रूसमा रहेको आफ्नो सम्पत्ति अफलोड गर्ने भएको छ । रूससँग भएको ६ सय अर्ब अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्राको सञ्चिति र त्यसमध्ये आधा विदेशमा रहेको र नाकाबन्दीले यसको प्रयोगमा रूकावट आएपछि यसले कतै विश्व पुँजीबजारमा तरलताको समस्या सिर्जना हुन सक्ने पनि आशंका गर्न थालिएको छ ।
नेपालको समष्टि अर्थव्यवस्थाको हिसाबले हेर्दा यो युद्धले पेट्रोलियम र खाद्य पदार्थको मूल्यवृद्धि गरी नेपालमा मुद्रास्फीतिको दर अरू बढाउने आशंका गर्न सकिन्छ । यसबाट नेपालको अहिले बढिरहेको भुक्तानी असन्तुलन र चालू खाता घाटा अरू बढ्नेछ । नेपालको व्यापारिक सम्बन्ध रूससँग भन्दा युक्रेनसँग बढी भएको देखिन्छ । भन्सार विभागको हालसालै एउटा स्थानीय दैनिकमा प्रकाशित तथ्यांकअनुसार युक्रेनबाट ४५ प्रकारका वस्तु १४ अर्बभन्दा बढी मूल्यको आयात भएको देखिन्छ भने रूसबाट ९१ किसिमका वस्तुहरू ४ अर्बभन्दा बढी मूल्यको आयात भएको देखिन्छ । क्षेत्रगत रूपमा यसबाट नेपालका खाने तेल उत्पादन गर्ने उद्योगहरू बढी प्रभावित हुने देखिएको छ । नेपालको कुल आयात व्यापारमा यी दुई देशको हिस्सा बढी नरहेको कारणले नेपालले अन्य स्रोतहरूबाट यी सामग्रीहरूको आपूर्ति गर्नुपने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्