ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ । ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ । यसबाट राजस्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ ।’
मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताए । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्वील लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताए ।
यस्तै ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले नियम उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । यसअघि दैनिक झन्डै ८ देखि १० लाख रुपैयाँ राजस्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म राजस्व संकलन भइरहेको बताउँदै मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनले बताए ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारीलगायतको उपस्थिति थियो ।