Logo

सेनाको स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका १ को दुर्गम मणिसाँघु गाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक कार्यक्रम अन्तर्गत नन्दा बक्स गण जुम्ला र नम्बर २४ बाहिनी अड्डा जुम्लाको आयोजनामा सोमबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
कर्णाली प्रतिष्ठानका विशषज्ञ चिकित्सक सहित दुर्गम मणिसाँघु गाउँमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ६ सय १८ जना नागरिक लाभान्वित भएका छन् । पुरुष २ सय १० र महिला ४ सय ८ गरी ६ सय १८ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको नन्दबक्स गण जुम्लाका गणपति रविन थापाले बताए ।
उनका अनुसार स्थानीयको स्वास्थ्य जाँचसँगै १ सय ३ जनालाई कोभिडको बुस्टर खोप समेत लगाइएको छ । जसमा महिला ५१ जना र पुरुष ५२ जना रहेका छन् । कर्णाली प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सक लिएर गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेपछि दुर्गम मणिसाँघुका नागरिक खुुसी भएका छन् ।
शिविरमा महिला, बालबालिका, जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणसँगै दोस्रो खोप लगाएका लाई बुस्टर खोप र गुठीचौर गाँउपालिका–१ मणीसाँघु स्थित खड्गादेवी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरिएको गणपति थापाले जानकारी दिए । उनका अनुसार शिविरमा सहभागी नागरिकलाई निर्वाचन केन्द्रीत सचेतनामूलक कार्यक्रम गरिएको छ ।
गाउँमै सेनाले विशेषज्ञ चिकित्सकको टोली लिएर गएपछि स्थानीय निकै उत्साहित थिए । लामो समयदेखि कोरोना महामारीका कारण सदरमुकाम खलंगा आएर स्वास्थ्य जाँच गर्न नसकेका नागरिकलाई लक्षित गर्दै सेनाले स्वास्थ्य शिविर गरेको हो । सेनाले उक्त अवसरमा द्धन्द्धको समयमा छोडिएका विस्फोटक पदार्थबाट जोगिनको लागि सचेतना कार्यक्रम समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्