जलविद्युतमा साना लगानीकर्ता आकर्षित गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ ।
भारतका लागि नवनियुक्त राजदूत शर्मासँग मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए ।
“समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सवैभन्दा धेरै भारतसँगै ७५ प्रतिशत छ । चालु आर्थिक वर्षको ८ महिनामै भारतसँग व्यापारघाटा ६ खर्व ७९ अर्व रुपैयाँ पुगिसकेको छ” उनले भने, “व्यापारघाटा कम गर्ने एक मात्रै विकल्प भारतीय लगानी मार्फत उत्पादन वृद्धि र पर्यटन आवगमन बढाउनु पर्छ ।”
नजिकको छिमेकी भारतमा रहेका १ अर्ब ३८ करोड जनसंख्याको शून्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाइदा लिन सक्ने अध्यक्ष मल्लको भनाइ छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषित गर्न सके धरै फाइदा लिन सकिने उनले बताए ।
उनले निर्यात सहजिकरण गरिदिन पनि राजदूत शर्मासँग आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरूको गुणस्तर मापन हुन नसकेको बताए ।
राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टिन ल्याब स्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने उनले बताए ।