नियामक, कम्पनी सञ्चालक र कार्यकारी प्रमुखको प्रोफाइल «

नियामक, कम्पनी सञ्चालक र कार्यकारी प्रमुखको प्रोफाइल

सूचीकृत कम्पनीका सञ्चालक तथा उच्च तहका व्यवस्थापकले आफ्नो विवरण वेबसाइटमा राख्नैपर्ने कानुनी व्यवस्था गर्नु आवश्यक छ ।

दोस्रो बजार होस् वा प्राथमिक सेयर बजार, सेयर किन्नुअघि कम्पनीका बारेमा के हेर्ने ? भन्ने प्रश्नमा सबैभन्दा पहिला कम्पनीको वित्तीय अवस्था भन्ने जवाफ आउँछ । कम्पनीको वित्तीय अवस्थाजस्तो वासलात (ब्यालेन्स सिट), नाफा–नोक्सान विवरण (प्रोफिट एन्ड लस स्टेटमेन्ट), नगद प्रवाह विवरण (क्यास फ्लो स्टेटमेन्ट) आदिबाट प्राप्त गर्न सकिन्छ । यस्तै कम्पनीका बारेमा हेर्नै पर्ने वा बुझ्नैपर्ने दोस्रो कुरा कम्पनीका सञ्चालक र व्यवस्थापनका बारेमा हो । सेयर बजारसँग सम्बन्ध राख्ने संस्था जस्तो धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, अर्थमन्त्रालयले पनि लगानी गर्नुअघि व्यवस्थापन र सञ्चालकको विवरण हेर्न लगानीकर्तालाई बारम्बार सुझाव दिइरहेकाहुन्छन् । इन्टरनेटको बढ्दो प्रयोगसँगै केही जाँगर लगाए कम्पनीका वित्तीय विवरण सजिलै पाउन सकिन्छ । यदि समान्य प्रयास गर्यौं भने तिनका वित्तीय विवरणका महत्वपूर्ण तथ्यांक जस्तो जगेडा कोष, नाफा–नोक्सान, प्रतिसेयर आम्दानी, नेटवर्थ आदि बुझ्न गारो छैन –थप जानकारी सेयरको आधारभूत विश्लेषण किताबबाट पनि लिन सकिन्छ) । यी संख्यात्मक कुराबाहेक केही गुणात्मक कुरा जस्तो सञ्चालक तथा व्यवस्थापनका व्यवहारका बारेमा बुझ्न त्यति सजिलो छैन । तर, सेयर मूल्यलाई प्रभाव पार्ने यी महत्वपूर्ण तत्व हरू भने अवश्य हुन् । कतिपय अवस्थामा वित्तीय अवस्था राम्रो भए पनि कम्पनीको व्यवस्थापन र सञ्चालकका कारण कम्पनीको सेयर लगानीकर्ताको आकर्षणमा नपरिरहेको हुन्छ भने कतिपय अवस्थामा खराब वित्तीय अवस्था हुँदाहुँदै पनि सञ्चालकप्रतिको विश्वासको कारण सेयरको उच्च कारोबार भइरहेको हुन्छ ।
सूचना–प्रविधिको बढ्दो विकाससँगै लगानीमा हुने जोखिम न्यूनीकरण गर्न तत्काल गुगल गरेर कम्पनीका बारेमा बुझ्ने प्रवृत्ति लगानीकर्तामा बढ्दै गएको छ । लगानीकर्ताले कम्पनीका वित्तीय विवरणसँगै कम्पनीका सञ्चालक र व्यवस्थापनका विवरणमा पनि आँखा पु-याइरहेका हुन्छन् ।
भनिन्छ, सञ्चालक कम्पनीका चालक हुन् (डाइरेक्टर्स आर द ड्राइभर्स अफ द कम्पनी) भने व्यवस्थापन त्यसको इन्जिन हो । यसैले कम्पनी सञ्चालक र व्यवस्थापन प्रमुखका विवरण जस्तो उनीहरूको विगतको अनुभव, अन्य कम्पनी वा व्यवसायमा संलग्नता आदि बुझेर लगानी गर्न चाहन्छन् । तर, विडम्बना धेरै सूचीकृत कम्पनीका सञ्चालक र उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिले उनीहरूको विवरण वेबसाइटमा राखेको पाइँदैन । उदाहरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त २८ वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक २७ वटा बैंक नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् । २८ वटा बैंकमध्ये १० वटा (३५.७१ प्रतिशत) वाणिज्य बैंकका सञ्चालकले मात्र आफ्नो विवरण (प्रोफाइल) सम्बन्धित कम्पनीको वेबसाइटमा राखेका छन् भने १८ वटाले राखेका छैनन् । यसको अर्थ ६४.२९ प्रतिशत बैंकका सञ्चालकले आफ्नो विवरण वेबसाइटमा राखेका छैनन् ।
वाणिज्य बैंकमा स्वदेशीमात्र र विदेशीसहित संयुक्त लगानी भएका बैंक सञ्चालनमा छन् । २८ वटामा ६ वटा बैंकमा स्वदेशी र विदेशीसहितको संयुक्त लगानी छ । सञ्चालकको विवरण वेबसाइटमा नराख्नेमा ४ वटा संयुक्त लगानी भएका बैंक जस्तो— स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक र एनएमबी बैंक छन् भने १४ वटा स्वदेशी मात्र लगानी भएका बैंक छन् । विवरण राख्ने १० वटामा दुईवटा विदेशी लगानी भएका जस्तो नविल बैंक र हिमालयन बैंक छन् भने ८ वटा स्वदेशी मात्र लगानी भएका बैंक छन् । सञ्चालकको विवरण वेबसाइटमा राखेका १० वटा बैंकमध्ये ३ वटा मात्र बैंक जस्तो सिटिजन्स बैंक, माछापुच्छ«े बैंक र जनता बैंकले सञ्चालक र कार्यकारी प्रमुख दुवैको विवरण राखेका छन् । यी सबै स्वदेशी मात्र लगानी भएका वाणिज्य बैंकहरू हुन् ।
यस्तै सबै वाणिज्य बैंकका कार्यकारी प्रमुखले पनि आफ्नो विवरण वेबसाइटमा राखेका छैनन् । २८ वटा वाणिज्य बैंकमा ४ वटा मात्र बैंकका कार्यकारी प्रमुखले आफ्नो विवरण वेबसाइटमा राखेका छन् भने २४ वटाले राखेका छैनन् । प्रायः सबै बैंकका सञ्चालक र कार्यकारी प्रमुखले कम्पनीको वेबसाइटमा फोटो मात्र राखेका छन् । फोटोले कुनै पनि व्यक्तिको अनुहार देखाउला, तर लगानीकर्तालाई लगानी निर्णयका लागि आवश्यक विवरण दिन सक्दैन । उनीहरूले खोजेको विवरण फोटोबाट पाउन सक्दैनन् । कुनै व्यक्ति टेलिभिजनमा देखिएकै भरमा कम्पनी लगानी गर्न लायक छ वा त्यसको व्यवस्थापन ठीक छ भन्ने अवस्था रहँदैन । यसले उनीहरूको विगत पनि बताउन सक्दैन ।
वाणिज्य बैंकका कार्यकारी प्रमुखका विवरणकै बारेमा अचम्मको कुरा के छ भने नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंकका कार्यकारी प्रमुखले समेत आफ्नो विवरण वेबसाइटमा राखेका छैनन् । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी चर्चामा देखिने नविल बैंकका कार्यकारी प्रमुख अनिल शाहले समेत आफ्नो विवरण बैंकको वेबसाइटमा राखेका छैनन् । विवरण राख्नैपर्ने कानुनी बाध्यता कहीँ छैन, तर एउटा सचेत सेयर लगानीकर्ता होस् वा निक्षेपकर्ता, उसले लगानी गर्नुअघि वा बचत गर्नुअघि सञ्चालक र व्यवस्थापन प्रमुखको विवरण हेर्न चाहन्छ । उसको विगतको अनुभव बुझ्न चाहन्छ । सूचीकृत कम्पनीका सञ्चालक तथा उच्च तहका व्यवस्थापकले आफ्नो विवरण वेबसाइटमा राख्नैपर्ने कानुनी व्यवस्था गर्नु आवश्यक छ, जसले लगानीकर्ताका लागि लगानीअघि आवश्यक सूचना संकलन गर्न सजिलो हुने गर्छ ।
तर, अर्को अचम्मको कुरा लगानीकर्तालाई वारम्बार अर्ती–उपदेश दिने नियामक निकायका पदाधिकारीले समेत आफ्नो विवरण वेबसाइटमा राखेका छैनन् । नियामक निकायका प्रमुख वा सञ्चालक समितिका सदस्यहरूले पनि वेबसाइटमा फोटो मात्र राख्ने कुरालाई प्राथमिकतामा राखेका छन्, विवरण राखेका छैनन् । उदाहरणका लागि नेपाल धितोपत्रबोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैंक, बिमा समिति कुनै पनि निकायका प्रमुखको विवरण तिनका वेबसाइटमा हेर्न र पढ्न पाइँदैन । बिमा समितिले सञ्चालक समितिका सदस्यको नाम मात्र राखेको छ भने फोटो राखेको छैन ।
सबै सञ्चालकले आफ्नो विवरण कम्पनीमा नबुझाए पनि सम्भवतः कार्यकारी प्रमुख सबैले जागिर खाने बेलामा आफ्नो विवरण कम्पनी वा संस्थामा बुझाएको हुनुपर्छ । तर, उनीहरू किन आफ्नो विगतको अनुभव, शैक्षिक योग्यता, महत्वपूर्ण उपलब्धिसहितका विवरण सर्वसाधारणमाझ देखाउन चाहँदैनन् ? यो महत्वपूर्ण प्रश्न हो । विवरण वेबसाइटमा नराख्नु व्यवस्थापकीय कमजोरी हो वा नियतशस नराखिएको हो, कम्पनीहरूले यसको जानकारी सर्वसाधारणलाई दिए राम्रो हुनेछ ।
यदि हामी अन्तर्राष्ट्रिय कम्पनी, त्यसमा पनि स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीका वेबसाइटमा गयौं भने प्रायः कम्पनीका सञ्चालक तथा व्यवस्थापन प्रमुखको फोटोसहित उनीहरूको बायोडाटा हेर्न र पढ्न पाइन्छ, जसले कम्पनीका महत्वपूर्ण पदमा रहेका व्यक्तिका बारेमा अध्ययन गरी लगानीमा हुने व्यवस्थापन जोखिम न्यूनीकरण गर्न लगानीकर्ता तथा कम्पनीसँग सम्बन्ध राख्नेहरूलाई सहयोग पुगिरहेको हुन्छ । नेपालमा पनि पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्राथमिक निष्कासनका लागि स्वीकृति दिँदा नै सञ्चालक र व्यवस्थापकीय प्रमुखको विवरण वेबसाइटमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छ भने नेपाल स्टक एक्सचेन्जले सूचीकरण सम्भौतामा पनि यो कुरा उल्लेख गर्नुपर्छ । यसअघि नै सेयर जारी गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका कम्पनीलाई निश्चित समयावधि दिएर वेबसाइटमा विवरण राख्नैपर्ने बाध्यात्मक व्यवस्था गरिनुपर्छ । आशा गरौं, नियामक निकायले यो कुरा चाँडै कार्यान्वयनमा ल्याउनेछ, जसले लगानीकर्तालाई लगानी निर्णयका लागि थप सूचना प्राप्त हुनेछ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस्