संस्थागत श्रमस्वीकृति पनि अब अनलाइन «

संस्थागत श्रमस्वीकृति पनि अब अनलाइन

अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि सरकारले संस्थागत अर्थात् म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने भएको छ । यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा पाउनेछन् । वैदेशिक रोजगार विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ ।
विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः श्रमस्वीकृतिका सबै प्रक्रिया अनलाइनमार्फत भइसकेको जानकारी दिँदै संस्थागत अन्तिम श्रमस्वीकृति पनि अनलाइन नै गर्ने तयारी भएको बताए । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका निर्देशक हरिराम नागिलाले संस्थागत रुपमा गरिँदै आएको पूर्व र अन्तिम श्रमस्वीकृति पनि अनलाइन गरिएपछि कार्यालयमा कोही सेवाग्राही पनि आउनु नपर्ने बताए । हाल म्याापावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ । संस्थागत श्रमस्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रमस्वीकृति दिने छ । विगत ३ वर्षको तथ्यांक अनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रुपमा श्रमस्वीकृति लिने गरेको देखिन्छ । हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रुपमा श्रमस्वीकृति जारी गर्दै आएको छ । यसमा सबैभन्दा बढी हिस्सा व्यक्तिगत श्रम स्वीकृतिको रहेको छ । हाल व्यक्तिगत श्रम स्वीकृति भने पूर्णरुपमा अनलाइन हुँदै आएको छ ।
आर्थिक वर्ष २०७५-०७६ मा ५ लाख ८ हजार ८२८ श्रमिकले श्रम स्वीकृति लिएका मध्ये म्यानपावर मार्पmत २ लाख ८ हजार ३५१ ले श्रम स्वीकृति जारी भएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षमा जम्मा ३ लाख ६८ हजार ४३३ युवाले श्रमस्वीकृति लिएकोमा संस्थागत १ लाख ७२ हजार २६६ ले श्रमस्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी गत आवमा १ लाख ६६ हजार ६९८ ले श्रमस्वीकृति लिएकोमा ६१ हजार ४२८ ले म्यानपावरमार्पmत विदेश जान श्रमस्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्