‘लगानीको स्वर्णिम अवसर छ’ «

‘लगानीको स्वर्णिम अवसर छ’

सरकारले लगानीको वातावरण तयार पार्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाइरहेका बेला सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । लगानी सम्मेलनको समापन समाहोरमा शनिबार नेकपा अध्यक्ष दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नभएको उल्लेख गर्दै लगानीको वातावरण तयार पार्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ६ सयभन्दा बढी विदेशी लगानीकर्तालाई साक्षी राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, “नेपालमा लगानीको वातावरण बनेको छ, ढुक्क भएर लगानी गर्नुस् तपाइँहरूले खोजेको वातावरण तयार गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन ।” उनले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुनेगरी कानुनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको जिकिर पनि गरे ।
“नेपालले हासिल गरेकोे राजनीतिक सफलताको उदाहरण पनि विश्वमा नमूना नै छ, नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्न सकिने अवसर मिलेको छ,” लगानीकर्तालाई विश्वास दिलाउँदै अध्यक्ष दाहालले भने, “राजनीतिक स्थायित्व हासिल गरेका छौं र सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनेको छ र निर्णय प्रक्रियासमेत सहज बनेको छ ।”
दाहालले पछिल्ला दिनमा बजारीकरणमा नवीन प्रयास गरिएको बताउँदै सरकारले दर्जनौं सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको दाबी गरे । नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै उनले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको स्पष्ट पारे । “दक्षिण एसियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा छ । ऊर्जा, पर्यटन, भौतिक पूर्वाधारलगायत क्षेत्रमा लगानीका लागि महत्वपूर्ण अवसर प्राप्त भएको छ,” दाहालले भने, “सबै प्रकारका लगानीकर्तालाई खुला हृदयसाथ लगानी गर्नुस् ।”
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल लगानी सम्मेलन २०७५ नेपालमा लगानीका अवसर पहिल्याउन सफल भएको दाबी गरे । “सरकारले निजी क्षेत्रसँग हातमा हात मिलाएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न तप्पर रहेको छ विदेशी कम्पनी र सहभागीसँगको सहकार्यलाई निरन्तरता दिनेछौं,” उनले भने, “सम्मेलन नेपाल लगानीको उचित गन्तव्य हो भन्ने पनि सावित भएको छ ।”
सम्मेलनका संयोजकसमेत रहेका खतिवडाले विभिन्न आयोजनको प्रस्तुति, उत्साहजनक सहभागिता, औपचारिक र अनौपचारिक छलफलले नेपालको लगानीको अवसर खोज्न सहज भएको बताए । “१६ वटा परियोजनामा हामीले एमओयू गरेका छौं, अन्य प्रस्तावित परियोजनामध्ये निकट भविष्यमा सम्झौताका चरणमा छन्,” उनले भने, “नेपालमा लगानीको वातावरण बनेको छ, नेपाल लगानीमैत्री र समृद्धिका दृष्टिले दक्षिण एशियामा उदाहरणीय बन्नेछ ।” सम्मेलनको समापनका क्रममा भएका सम्झौताहरू सुरुवात मात्र भएको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत महाप्रसाद अधिकारीले पनि लगानीकर्ताहरू लगानीका लागि तयार देखिएको बताए । “हामीले जे नीतिगत सुधार गरेको थियौं र र गर्ने भनेका छौं, त्यो स्पष्ट रूपमा राखेका छौं,” उनले भने, “हाम्रो देशमा रहेको अवसरबारे जानकारी गराएका छौ र लगानीकताएहरू पनि उत्साहित हुनु भएको छ उनले थपे जसको उदाहरण आजै भएका सम्झौताहरू हुन् ।” कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले मुलुकमा लगानीको वाताबरण बनेको र सहजीकरणको बाताबरण तयार गरिदिन सरकारसँग आग्रह गरे ।
“राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रूपमा रहेको छ,” अध्यक्ष भट्टले भने मुलुकको समृद्धिका लागि एनआरएनले सरकारसँग होस्टेमा हैंसे गर्नेछ ।” उनले सम्बद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न लगानी आवश्यक रहेको र यसकालागि लगानी सम्मेलन भब्यताकासाथ समापन भएकोमा आभार समेत प्रकट गरे । समापन अवसरमा चौधरी गु्रपमा अध्यक्ष विनोद चौधरीले लगानी सम्मेलन मुलुका लगानी भित्र्याउन कोशेढुँगा सावित भएको बताए । चौधरी समूहले प्रदेश २ मा २ सय मेगावाट क्षमताको सौर्य उर्जा परियोजनामा लगानी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्