आयोगको केन्द्रीय कार्यालयबाटै मत गणनास्थलको अवलोकन «

आयोगको केन्द्रीय कार्यालयबाटै मत गणनास्थलको अवलोकन

राष्ट्रिय मान्यता प्राप्त बाहेक स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ मध्ये ५८ राजनीतिक दलले जिल्लास्तरको संगठन संरचनासहितको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । ती दलका उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णय गर्न जिल्लास्थित संगठन संरचना विवरण उपलब्ध गराउन आइतबारसम्मको समयसीमा प्रदान गरिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले ७३ राजनीतिक दललाई जिल्लास्तरको संगठनात्मक संरचनाको विवरण उपलब्ध गराउन पत्राचार गरेकामा ५८ दलबाट प्राप्त विवरण अध्ययनका क्रममा रहेको बताए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी तुल्याउने सिलसिलामा आयोगले प्रचलित कानुनअनुसार ती दललाई विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका भण्डारण तथा मत गणनास्थलको अनुगमन र दृश्यावलोकन आयोग परिसरबाटै गर्ने भएको छ ।
अवलोकन प्रणाली जडान गर्ने सन्दर्भमा आवश्यक व्यवस्था मिलाउन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय निकायलाई अनुरोध गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा आयोगले यही चैत १५ गतेदेखि ११०२ नम्बरको टोल फ्रि नम्बर रहने गरी कल सेन्टर सञ्चालन गर्न लागेको छ । उक्त नम्बरमा आम नागरिक तथा सरोकारवालाले आफ्ना जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने व्यवस्था मिलाएको छ ।
नेपाल कानुन समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त तथा आयुक्त तथा निर्वाचन विज्ञको सहभागितामा मुलुकका सात प्रदेशलगायत १५ जिल्लामा यही चैत ९ देखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल सरोकारवाला निकाय संस्था तथा पदाधिकारीसँग छलफल र अन्तक्रिया गर्ने भएको छ ।
निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने उद्देश्यले आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन २०७८ निर्देशिका स्वीकृत गरेको छ । निर्वाचनका लागि आयोगले आउँदो वैशाख ११ गतेदेखि सुरु हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत गरिसेको छ ।

प्रतिक्रिया दिनुहोस्