नेपालमा बढ्न थाल्यो चीजको माग

बाख्राको दूधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ–धौ पर्न थालेको छ ।
पछिल्लो समय पर्यटकीय गन्तव्यमा विदेशी पाहुना र आन्तरिक पर्यटकले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो । विदेशीले चीज र वाइन खाने भएको र नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तरयुक्त भएको कारणले पनि पछिल्लो समय धेरै मन पराइएको बताउँछन् राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर, तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य । अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातीका बाख्राहरु पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढीरहको छ ।
उनले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दूध पु-याउन सक्ने बताए । एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि ४ लिटरसम्म दूध दिने गरेको उनको भनाइ छ । दूधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको उनले बताए । स्थानीयको माग, होटल व्यवसायीको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको उनी बताउँछन् ।
यो बाख्राले सबै किसिमका घाँसहरु खाए पनि पोषिलो कुरा धेरै खुवाउनु पर्ने उनको भनाइ छ । अनुसन्धान कन्द्रले अहिले चीजसँगै सानेन जातको पाठीहरु पनि बिक्री गर्दै आएको छ । तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसावमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उनको भनाइ छ ।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दूध भन्दा चीजको बढी माग आइरहेको बताउँछन् । उनले अहिले बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित चीज पोखराका विभिन्न होटलहरुमा बिक्री हुने बताए । २५ सय रुपैयाँ तिरेर स्पेनबाट ल्याइएको चीज भन्दा नेपालमा उत्पादित चीज सस्तो र गुणस्तरीय भएकोले पनि पछिल्लो सयम यसको माग बढेको उनको भनाइ छ ।
बन्दीपुरमा उत्पादित चीज किलोको ८ सय रुपैयाँमा बेच्ने गरेको र विदेशीहरुले पनि धेरै मन पराएको प्रतिक्रिया आएको उनले बताए । उनले केही वर्ष यता नेपालीहरुले पनि चीज धेरै मन पराउन थालेको बताए । बाख्राको दूधमा फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई–भैंसीको तुलनामा बाख्राको दूध र चीजको माग उल्लेख्य रहेको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुण्यसिंह लामा भने बन्दीपुरलाई पर्यटनसँग जोडेर उत्पादन र रोजगारी बढाउने लक्ष्यमा रहेको बताउँछन् । बन्दीपुर सांस्कृतिक र ऐतिहासिक थलो भएको भन्दै उनले २० वर्षे गुरुयोजना बनाएर बन्दीपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ काम गरेको बताए । पर्यटकलाई दुई रात, तीन दिन बसाउने वातावरण सिर्जना गर्ने र एकै दिनमा ५ देखि १० हजारको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएर गाउँपालिकाले काम गरेको उनको भनाइ छ ।
अध्यक्ष थापाले ऐतिहासिक सम्पदाहरुलाई पर्यटनमा बदलेर रोजगार र उत्पादन सिर्जना गर्ने लक्ष्यअनुसार ऐतिहासिक सम्पदाहरुको सुरक्षा गर्ने काम गरिरहेको उनी बताउँछन् ।