प्याराग्लाइडिङको प्राधिकारिक संस्था ‘ना’लाई अधिकार प्रत्यायोजन «

प्याराग्लाइडिङको प्राधिकारिक संस्था ‘ना’लाई अधिकार प्रत्यायोजन

पोखरा-प्याराग्लाइडिङको राम्रोसँग अनुगमन र नियमनकारी निकायको प्रभावकारी भूमिका नहँुदा पोखरा क्षेत्रमा प्याराग्लाइडिङमा दुर्घटना बढ्दै गएका बेला नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो क्षेत्र अधिकार एक निजी संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई अधिकार प्रत्यायोजना गरेको छ ।
क्यानले प्याराग्लाइडिङसम्बन्धी अधिकांश अधिकार प्रत्यायोजना गरी नालाई प्राधिकारिक संस्थाका रूपमा बुधबार पोखरामा आयोजित एक समारोहकाबीच अधिकार प्रत्यायोजन गरेको हो । क्यानका उप–महानिर्देशक राजन पोख्रेलले नाका कार्यवहाक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीलाई उक्त अधिकार प्रत्यायोजनको प्रमाण–पत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै क्यानका उप–महानिर्देशक पोख्रेलले प्याराग्लाइडिङसम्बन्धी धेरै कुराहरू क्यानले नालाई अधिकार प्रत्यायोजन गरेकोले थप व्यबस्थित र मर्यादित पार्नुपर्नेमा जोड दिएका थिए । नाका सीईओ भण्डारीले आफूहरूले पाएको अधिकारलाई सही ढंगबाट प्रयोग गरी पोखराको प्याराग्लाइडिङलाई ब्यबस्थित पार्ने बताए ।
क्यानले ‘ना’लाई प्याराग्लाइडिङसम्बन्धी लाइसेन्स जारी गर्ने, नवीकरण र निलम्बनसम्म गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको हो । कम्पनी इजाजतको अनुमति, नवीकरण, निलम्बन तथा खारेजीको नाले क्यानलाई सिफारिस गर्न सक्ने भएको छ । मूल्य एकरूपता कायम गरी, सुरक्षित उडानका लागि स्लट सिस्टम सञ्चालन गर्ने भएको नाका सीईओ भण्डारीले बताए । उक्त अधिकार प्राप्त भएसँगै नाले दैनिक रूपमा अनुगमन तथा दुर्घटना न्यूनीकरणमा लाग्ने भएको उनले बताए । सोलो प्याराग्लाइडिङ पाइलटहरूको हकमा भने कुनै कम्पनीले ‘ना’बाट सिफारिस लियर मात्र नागरिक उड्डयन कार्यालय पोखरामा उडान अनुमति लिनका लागि जानुपर्ने व्यवस्था गरेको छ । राज्यलाई दिने शुल्क तथा करको विषय भने सम्बन्धित निकायमै कम्पनी तथा प्याराग्लाइडिङ पाईलटहरूले बुझाउनुपर्छ । ‘ना’लाई अधिकार प्रत्यायोजन गरेसँगै क्यानले के कति अनुदान दिने भन्ने बिषयमा हाल कुनै टुंगो लागेको छैन ।
प्याराग्लाइडिङको निमनकारी निकाय ‘ना’लाई बनाएसँगै प्याराग्लाइडिङमा हुने विकृतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए । आगामी वैशाख १ गतेदेखि पोखरामा हुने प्याराग्लाइडिङलाई व्यवस्थित पार्न नयाँ मूल्यसहित नयाँ ढंगले अघि बढ्ने उनले बताए । पोखरामा हुने प्याराग्लाइडिङलाई नियमन गर्न ‘ना’ले अधिकार पाएसँगै अब भने आफूहरूलाई प्याराग्लाइडिङसम्बन्धी धेरै समस्या नआउने भएको बताए । सामान्य दुर्घटनाको छानबिन गर्नसमेत ‘ना’ले अधिकार पाएको छ भने जसको प्रतिवेदन भने क्यानलाई बुझाउनु पर्ने छ । ठूला प्रकृतिका दुर्घटनाको विषयमा भने क्यानले हेर्ने भएको छ ।
पोखरामा हाल ६२ वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन् भने करिब ४५ वटा कम्पानी मात्र सक्रिए रहेको बताइन्छ । पोखरामा २ सय जनाभन्दा बढी व्यावसायिक (टेन्डम) प्याराग्लाइडिङ पाइलट रहेका छन् भने उतिकै सङ्ख्यामा सिकारु (सोलो) पाइलट रहेका छन् । पोखरा महानगरपालिकामा विगत ४ वर्षदेखि अधिकांश कम्पनीले नवीकरण नगरी कम्पनी सञ्चालन गरे पनि पछिल्लो समयमा दस्तुरसहित नवीकरण गर्न थालेका छन् । नेपालका पहिलो प्याराग्लाइडिङ पाइलट राजेश वंजन हुन भने उनका बाबु बिरु वंजनले नेपालको पोखरामा प्याराग्लाइडिङ भित्राएका हुन् ।

प्रतिक्रिया दिनुहोस्