सडक पुगेपछि झोलुंगे पुल प्रयोगविहीन
रुकुम- नागरिकको सहज आवतजावतका लागि रुकुम पश्चिममा निर्माण गरिएका झोलुंगे पुल प्रयोगविहीन बन्न थालेका छन् । कुनैबेला एक ठाउँबाट अर्कोठाउँ जान तथा ग्रामीण क्षेत्रको समस्या हल गर्न खोला र नदीमा बनाइएका झोलुंगे पुल प्रयोगविहीन बन्न लागेका हुन् ।
पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक तथा पक्की मोटरेबल पुल निर्माण भएसँंगै जिल्लाका विभिन्न क्षेत्रमा बनाइएका झोलुंगे पुल अहिले सुनसान बन्दै गएका छन् । कतिपय झोलुंगे पुल भने हाल जीर्ण अवस्थामा रहेका छन् । त्यस्तै दैनिक उपभोग्य वस्तु ढुवानी तथा आवतजावतका लागि गाउँमै सवारीसाधन चल्न थालेकाले झोलुंगे पुलको प्रयोग घट्दै गएको छ । नजिककै मध्यपहाडी राजमार्गमा मोटरेबल पुल बनेपछि रुकुम मुसीकोट–१३ मुग्लुखोलामा रहेको झोलुंगे पुल प्रयोगविहीनजस्तै छ । त्यस्तै रिम्ना, आठबिसकोट चिसापानीलगायतका विभिन्न ठाउँमा रहेको झोलुंगे पुल प्रयागविहीन जस्तै भएका छन् । वर्षौंअघि निर्माण गरिएका केही प्रयोगविहीन झोलुंगे पुलसमेत हाल जीर्ण बन्दा जोखिमसमेत बढेको सर्वसाधारणको भनाइ छ ।
रुकुम पश्चिममा अहिलेसम्म झण्डै ५० जति झोलुंगे पुल निर्माण भइसकेका छन् । कतिपय क्षेत्रमा अझै पनि झोलुंगे पुल निर्माणाधीन अवस्थामा छन् । पुल नहुँदा वारपार गर्न समस्या हुने ठाउँमा उक्त प्रयोगविहीन पुल लगेर जोड्नुपर्ने स्थानीय भरत पुनको भनाइ छ ।