स्थानीय निर्वाचनमा एमालेको बहुमत आउँछ : पोखरेल

सुर्खेत-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन् ।
उनले स्थानीय तह निर्वाचनमा बहुमत ल्याउनुपर्ने भन्दै कार्यकर्ताहरुलाई केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको बारेमा प्रचार गर्न निर्देशन पनि दिए । अघिल्लो पटक गरेका कतिपय बाचा पूरा गर्न नसकिएपनि पूरा गरेका राम्रा काम प्रचार गरेर जनताको मन जित्न पोखरेलले आग्रह गरे । एमसीसीको सन्दर्भ कोट्याउदै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको नक्कली राष्ट्रवाद प्रष्ट भएको उल्लेख गरे । एमसीसी सम्झौतालाई नेपाल र नेपालीको अधिकतम हित हुनेगरी कार्यान्वयन गर्नुपर्ने एमालेको धारणा रहेको पनि उनले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रमुख सचेतकबाट राजीनामा दिएका ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका थिए । विष्टलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी प्रवेश गराए । बिष्टसंगै दुई सय बढी माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र गुर्भाकोट नगर कमिटी अध्यक्ष मोती बिकले पूर्ण कमिटीलाई एमालेमा समाहित गरेको बताए ।
बिष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेशसभा सदस्य ठम्मर विष्टले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पार्टी प्रवेशपछि विष्टले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा माओवादी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएरपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी )पारित गरिनुलगायतका कारण आफूले पार्टी छोडेको बताएका छन् ।