स्थानीय चुनावमा आफ्नै भरले जान्छौं : प्रचण्ड

पोखरा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आफ्नै पार्टीको भरमा केन्द्रित हुने गरी तयारी गरिएको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानिय निर्वाचनमा आफ्नै पार्टी नेता कार्यकर्ता र आम जनताको भरमा निर्वाचनमा जाने तयारी गरेको बताएका हुन् ।
स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुने दाबी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको भरमा भन्दा पहिला आफ्नै पार्टी तथा नेता कार्यकर्ता एवं जनताको भरमा चुनावमा केन्द्रित हुन आग्रह गरे । उनले भने, ‘माओवादी पहिलो पार्टी बन्ने सम्भावना देखेको छु, अब हामी कसेको सहायतामा होइन आफ्नो खुट्टामा उभिएर आफ्नै बलबुताले निर्वाचनमा सहभागी हुनुपर्छ ।’ संविधानको रक्षा र मुलुकलाई अगाडि बढाउनका लागि अन्य राजनीतिक दलहरू अब माओवादी केन्द्रसँग सहकार्यका लागि बाध्य हुने प्रचण्डको भनाइ थियो । मधेशमा हजारौं बुद्धिजिवीहरु माओबादीमा प्रबेश गर्नुले माओबादीमा पुनः उभार आएको उनले दाबी गरे । गठबन्धन प्रतिगामी षडयन्त्र परास्त गर्नका लागि बनेको भन्दै उनले सम्भव भएका स्थानीय तहमा सहकार्य हुन सक्ने बताए । अध्यक्ष प्रचण्डले संविधान र अहिले हासिल भएका उपलब्धि मुख्यतः केपी शर्मा ओलीलाई मन नपरेको आरोप लगाए । निर्वाचनमा माओवादीले स्थापित गरेका एजेण्डा लिएर मतदाता समक्ष जाने भएको उनको भनाइ थियो । माओवादीको ठूलो संघर्षपछि प्राप्त भएको संघीयता, समावेशीता र समानुपातिक सहभागिता लगायतका एजेण्डा मन नपर्ने प्रवृत्ति र जनताका पक्षमा प्राप्त भएका उपलब्धि जोगाउने प्रवृत्तिवीच हाल ठूलो संघर्ष भइरहेको अध्यक्ष प्रचण्डले बताए । एमसिसी व्याख्यात्मक टिप्पणीका साथ पारित गरेर देशलाई ठुलो दुर्घटना हुनबाट बचाइएको अध्यक्ष प्रचण्डको दावी थियो । अमेरिकाले एमसिसीमा नेपालले गरेको ब्याख्यात्मक टिप्पणी अस्वीकार गरेमा यसमा नेपालले पनि लागू गर्न नसक्ने उनको भनाइ थियो । एमालेले जस्ताको तस्तै एमसीसी पास गर्न खोजेको उनको आरोप थियो । आइतबार अध्यक्ष प्रचण्ड प्रदेश स्तरिय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा समेत सहभागि भएका थिए ।