पाँच दलीय गठबन्धन नमिले हाम्रो पार्टीको सामुन्ने पर्न पनि नसक्ने दाबी «

पाँच दलीय गठबन्धन नमिले हाम्रो पार्टीको सामुन्ने पर्न पनि नसक्ने दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर नआए आगामी निर्वाचनमा आफ्नो पार्टीको सामुन्ने पर्न पनि नसक्ने दावी गरेका छन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टी मात्रै जनताको प्रतिनिधि भएको उल्लेख गर्दै आगामी निर्वाचनमा अन्य कुनै पनि दलसँग गठबन्धन गरिरहनुनपर्ने तर्क गरे । नेकपा एसका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आईतबार आयोजित सभामा बोल्दै उहाँले देश बनाउन पुग्ने उज्यालो सूर्य आफ्नो पार्टीसँग भएको र यसैकारण ठूल्ठूला आमसभा गरेर हिँडन सकिएको बताए । आमसभाको उपस्थितिप्रति संकेत गर्दै उहाँले पाँच दलीय गठबन्धनले यत्रो सभा गर्न नसक्ने बताए । एमाले एक्लैसँग नीति, विचार र व्यवहार देश बनाउन पर्याप्त रहेको अध्यक्ष ओलीको भनाई थियो । उनले भने, ‘पाँच दलीय गठबन्धन, पाँच वटा नमिलिकन त एमालेको सामुन्ने पर्न पनि सक्दैनन् । यत्रो आमसभा पाँच दलले गर्न सक्दैन नि । अरू खोज्नुपर्छ उनीहरूले । नेकपा (एमाले) मात्रै हो, सिंगो जनताको प्रतिनिधि । यसलाई पाँच दल, सात दल चाहिदैन । एउटै दल एमाले काफी छ । सूर्यलाई मोर्चाबन्दी गरिरहन आवश्यक छैन । सूर्यसँग मोर्चाबन्दी गरेर लडिरहनुपर्ने आवश्यक्ता हुँदैन । यो जुनकिरीको पिलपिल होइन । सूर्यसँग संसार ढाक्नेगरीको उज्यालो आफैंसँग छ । नेकपा (एमाले)ले बोकेको सूर्यसँग देश बनाउन पुग्ने नीति, विचार, व्यवहारको उज्यालो एमालेसँग एक्लै छ ।’
अध्यक्ष ओलीले खनाललाई लक्षित गर्दै एमालेको गुण बिर्सने, नुन बिर्सनेहरूलाई आगामी निर्वाचनमा जनताले जवाफ दिनुपर्ने बताए । आगामी निर्वाचनमा एमालेको बाकस खाली गरिदिने खनालको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले अर्काले लगाई दिएको जुंगामा ताउ लगाएर बाकस खाली गर्छु भन्न नसुहाउने बताए । अध्यक्ष ओलीले भने, ‘विचार गर्नुस् कति साह्रो लाज नभएकाहरू । कमसेकम नेकपा (एमाले)ले टाँसी दिएको जुंगा खौरिएर छोडनु पर्छ नि । नेकपा (एमाले)ले लगाई दिएको जुंगामा ताउ लगाउने अहिले, अनि एमालेको बाकस खालि गर्छु भन्ने । बाकस कसको खाली हुन्छ ? म भन्दिन । तपाईहरूले जवाफ दिनुपर्छ–आउँदो वैशाख ३० गते हुने निर्वाचनमा । म तपाईहरूलाई आग्रह गर्न चाहन्छु–यस्ता नुन बिर्सने, गुण बिर्सने तत्वहरूलाई तपाईँहरूले जवाफ दिनुपर्छ ।’
कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष सुवाष नेम्वाङले जनतालाई धोका दिएर दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकारलाई हटाएर जानेहरूलाई आगामी निर्वाचनमा जनताले देखाई दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्