लगानीकर्तालाई मर्जरबाट पर्ने प्रभाव

कम्पनीहरू मर्जर प्रक्रियामा रहँदा कम्पनीहरूलाई त्यति सजिलो भने छैन । मर्जर प्रक्रियामा रहँदा विभिन्न कठिनाइ आउने गरेको सरोकारवालाहरू बताउँछन् ।
पुँजीबजारमा कम्पनीहरूको बीच मर्जरको चर्चा चलि नै रहेको हुन्छ । कहिले बैंक तथा वित्त कम्पनीहरूको बीच, कहिले जलविद्युत् कम्पनीहरूको बीच, कहिले बिमा कम्पनीहरूको बीच । विभिन्न कम्पनीहरू मर्जर प्रक्रियामा रहँदा लगानीकर्ताहरूलाई भने ठूलै प्रभाव पारेको हुन्छ । कतिपय कम्पनीको मर्जरले गर्दा लगानीकर्तालाई घाटा पनि हुने गरेको छ । पछिल्लो समयमा ठूला बैंकहरू हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाँडिँदा लगानीकर्ताहरू घरको न घाटको भएका थिए । यी दुई बैंकको मर्जर प्रक्रियामा रहँदा पनि लगानीकर्ताहरूले घाटा बेहोर्नुप-यो ।
यी दुई बैंकको मर्जर प्रक्रिया साढे नौ पहिनासम्म चलेको थियो । साढे नौ महिनापछि मर्जर प्रक्रिया असफल भएकाले मर्जरमा नजाने जानकारी लगानीकर्ताहरूले पाएका थिए । मर्जर प्रक्रिया भाँडिइसक्दा पनि यी दुई बैंकले सेयरको कारोबार गर्न पाएनन् । यी दुई बैंकको मर्जर प्रक्रियामा रहँदा सेयर बजारमा नेप्से ३२ सय अंक पार गर्यो । तर, पनि लगानीकर्ताहरूले लाभ लिन सकेनन् । मर्जर प्रक्रियामा रहेका कारणले सेयरको कारोबार बन्द थियो । त्यसो त मर्जर प्रक्रिया सुरु हुँदा र मर्जर प्रक्रिया सफल÷असफल भएर मर्जर प्रक्रिया पूरा हुँदासम्ममा सेयर बजारमा सेयरको भाउ निकै उतारचढाव भएर तलमाथि भइसकेको हुन्छ । यसबाट पनि कतिपय लगानीकर्ताले नोक्सानी बेहोर्नुपर्ने भएको छ ।
त्यसैगरी कतिपय कम्पनीको मर्जर प्रक्रिया लम्बिँदा पनि लगानीकर्ताहरूमा नकारात्मक असर पर्ने गरेको छ । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर प्रक्रिया साढे नौ महिनासम्म चलेको थियो । यी बैंकका लगानीकर्ताहरू नौ महिनापछि पनि उत्साहित नै थिए । तर अन्त्यमा हात्ती आयो हात्ती फुस्सा भनेजस्तो मात्रै भए । साढे नौ महिनासम्म मर्जर प्रक्रियामा रहँदा पनि मर्जर असफल भएका कारण लगानीकर्ताहरूले घाटा बेहोर्नुपर्यो । यस्ता विषयमा भने नियामक निकायहरूले ध्यान दिनुपर्ने देखिन्छ । त्यसो त कम्पनीहरू मर्जर प्रक्रियामा रहँदा कम्पनीहरूलाई त्यति सजिलो भने छैन । मर्जर प्रक्रियामा रहँदा विभिन्न कठिनाइ आउने गरेको सरोकारवालाहरू बताउँछन् । यस कारणले पनि मर्जरमा गएका सबै कम्पनीको मर्जर सफल हुन नसकेको भान हुनछ । मर्जरमा गएका सबै कम्पनीको मर्जर सफल नै हुन्छ भन्ने पनि होइन ।
कतिको मर्जर सफल हुन्छ त कतिको असफल पनि हुन्छ । मर्जर गर्दा सबैभन्दा समस्या, कठिनाइ आउने कारण भनेको स्वाप रेसियोमा हो भने त्यसपछि कर्मचारी ब्यवस्थापन पनि हो । त्यसो त हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर असफल भएको एउटा कारण स्वाप रेसियो हो भन्ने चर्चा नचलेको पनि होइन । त्यसैगरी हिमालयन बैंकका केही सञ्चालकहरू नै मर्जरमा जान नचाहेको भन्ने चर्चा पनि चलेको थियो । हिमालयन बैंकका केही सर्वसाधारण सेयरधनीहरू पनि मर्जरको विपक्षमा रहेका देखिए । तर, धेरैजसो मर्जर प्रक्रिया असफल हुने कारणमा स्वाप रेसियो नै हुने गरेको बताइन्छ । स्वाप रेसियोकै कारणले कतिपय कम्पनीको मर्जर असफल भएका छन् । साथै, स्वाप रेसियो निर्धारण हुँदै गर्दा पनि कमिसनको चलखेल हुने गरेको चर्चा नचल्ने होइनन् ।
प्राथमिक बजारका लगानीकर्ताहरूलाई त्यति समस्या नहुने भए पनि दोस्रो बजारका लगानीकर्ताहरूले भने यसबाट घाटा बेहोर्नुपरेको छ । मर्जरको विषयमा भत्तावाल सेयरधनीहरू भनेर चर्चा चलेका केही सेयरधनी कम्पनीहरू मर्जर प्रक्रियाको पक्षमा भए पनि साधारणसभाहरूमा कम्पनीहरूले बेहुला–बेहुली खोजेर विवाह गर्नुप-यो भनेर मर्जरको पक्षमा बोल्ने गरे तापनि सर्वसाधारण सेयरधनीहरू भने मर्जरको विपक्षमा रहेका पनि देखिए । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर असफल भए पनि हुन्छ भन्ने कतिपय लगानीकर्ताहरू नभएका पनि होइनन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले ठूला बैंकहरूलाई मर्जरमा जानका लागि दबाब दिने गरेको भएतापनि विभिन्न चलखेल हुने गरेको पाइन्छ । विगतमा ३२ वटा वाणिज्य बैंक रहेकामा अहिले २७ वटा वाणिज्य बैंकहरू रहेका छन् । विगतमा श्राद्धको प्रसाद बाँडेजस्तो गरी बैंकहरूलाई लाइसेन्स दिइयो । त्यस बेला बैंकहरूको संख्या बढी नहुने तर पछिल्लो समयमा बैंक तथा वित्त कम्पनीहरू भने बढी लाग्ने गरेको छ नेपाल राष्ट्र बैंकलाई भन्ने आरोप पनि छ ।
नेपाल राष्ट्र बैंकको दबाबका कारण मर्जरमा गएकाले अधिकांश विकास बैंक र वित्त कम्पनीहरू सोत्तर भएका छन् भने वाणिज्य बैंकहरूको संख्या पनि कम भएको देखिएन । त्यसो त केही वाणिज्य बैंकले पनि एकआपसमा मर्जर गरेको देखिन्छ भने पछिल्लो समयमा पनि नबिल बैंक र नेपाल बङ्गलादेश बैंक गाभिने प्रक्रियामा रहेका छन् ।
यसकारणले नेपाल बङ्गलादेश बैंकको सेयर बजारमा कारोबार रोक्का छ । त्यसैले बैंक तथा वित्त कम्पनीहरूबीच मर्जर वा प्राप्ति जे हुँदा-गर्दा पनि लगानीकर्ताहरूलाई लाभभन्दा हानि हुने गरेको देखिन्छ । एक त स्वाप रेसियोमा ठग्ने, अर्को मर्जर प्रक्रियामा रहँदा सेयरको कारोबार गर्न नपाइने, अर्को मर्जर प्रक्रिया लम्बिने, मर्जर प्रक्रिया सकिँदा सेयरको भाउ तलमाथि हुने, मर्जर प्रक्रिया १० महिनासम्म चल्दा पनि मर्जर भाँडिने, असफल हुने, त्यसैगरी बिग बैंकहरूबीच एक–आपसमा मर्जर हुँदै गर्दा एकै बैंकको सेयरको थुप्रो हुने हुँदा बजारमा सेयरको बिक्री चाप बढी भएर सेयरको भाउमा वृद्धि नहुने, यही कारणले पनि बजारमा नेप्से ३ हजार-३२ सय अंक पुग्दा पनि वाणिज्य बैंकहरूको सेयरको भाउ नेप्से १२ सय अंकको बेलामा जतिको हाराहारीमा नै रहेको छ ।
लगानीकर्ताहरूले बैंक तथा वित्त कम्पनीहरू मर्जरमा जानुपर्ने बाध्यता हो कि आवश्यकता भन्ने पनि बुझेका छैनन् । कतिपय बैंक तथा वित्त कम्पनीहरूलाई मर्जरमा जानुपर्ने बाध्यता पनि होला भने कतिपय बैंक तथा वित्त कम्पनीहरूलाई रहर पनि होला, लहर पनि होला । तर पनि आवश्यकताको आधारमा मात्रै मर्जरमा जानुपर्ने, कसैको दबाबका कारणले जान नहुने लगानीकताहरूको भनाइ रहेको पाइन्छ ।