Logo

विश्व क्षयरोग दिवसको सान्दर्भिकता

सन् १८८२ मार्च २४ मा सर्वप्रथम चिकित्सक रोबर्ट कोचले मानव शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाए । यो पत्ता लगाएको सय वर्षपछि प्रत्येक वर्ष सम्झनास्वरूप मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइने गरेको छ । क्षयरोग वा टीबी (अंग्रेजीमा ट्युबरक्युलोसिस, एमटीबी, थिसिस, कन्जम्प्सन) विश्वभर फैलिएको संक्रामक रोग हो । माइक्रो ब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भए पनि मुख्यतया माइक्रो ब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ ।
साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पु-याउन सक्छ । यो रोग लागेका मानिसहरूमा यदि सक्रिय कीटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्छ । प्रायः संक्रमणहरूमा लक्षणहरू देखा पर्दैनन् । त्यस्तो अवस्थालाई निष्क्रिय क्षयरोग (लाटन्ट ट्युबरक्युलोसिस) भनिन्छ । करिब दसमा एक निष्क्रिय क्षयरोग बिस्तारै बढ्दै गएर सक्रिय हुन सक्छ । यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५० प्रतिशत रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ ।
क्षयरोग मुख्य त फोक्सोमा लाग्ने भए पनि शरीरका अन्य अंगहरू जस्तो : हाड जोर्नी, मूत्र प्रणाली, पाठेघर, कलेजो, स्नायु पेट, आन्द्रालगायतका भागहरूमा पनि संक्रमण हुने सम्भावना हुन्छ । बदलिँदो जीवनशैली, जथाभावी खानपान, चेतनाको कमी, लापरवाहीलगायतका कारण अन्य रोगजस्तै क्षयरोग पनि ठूलो चुनौतीको रूपमा रहेको छ । क्षयरोगका कीटाणुहरू प्रायः सबैको शरीरमा रहने भएकाले कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई यस रोगले सजिलै आक्रमण गर्न सक्छ । दुई–तीन हप्ताभन्दा बढी समय खोकी लागिरहने र खकारमा रगत देखिने, छाती दुख्ने, हल्का काम गर्दा पनि थकाइ लाग्ने, साँझपख ज्वरो आउने, तौल घट्नेजस्ता लक्षण देखिएमा क्षयरोग हुनसक्ने प्रबल सम्भावना हुन्छ । त्यसो भएकाले यस्ता लक्षण देखिएमा समयमै खकार तथा रगत परीक्षण गराउने, छातीको एक्सरे गराइहाल्नुपर्छ ।
खासगरी रुघा, खोकी, फोक्सोमा असर भएका कारण श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता लक्षण कोभिड–१९ मा पनि देखिने भएकाले ती परीक्षणहरू गराउनु उत्तम हुनेछ । रोग देखिएमा चिकित्सकको सहयोगमा नियमित औषधिको प्रयोग गर्नुपर्छ । नेपाल सरकारबाट प्रत्येक स्वास्थ्यचौकी तथा स्वास्थ्य केन्द्रमा क्षयरोगको उपचार तथा औषधि निःशुल्क दिने व्यवस्था गरिएको छ । सम्बन्धित विज्ञहरूका अनुसार यस रोगबाट बच्न कोभिड–१९ बाट बच्न अपनाएका उपायहरू सरसफाइमा विशेष ध्यान दिने, मास्क लगाउने, कोठामा हावा ओहोर–दोहोर हुने र घामको किरण पर्ने व्यवस्था गर्ने, क्षयरोग लागेका व्यक्तिको सम्पर्कबाट केही टाढा रहने, बालबालिकालाई समयमै बीसीजी खोप लगाउने, धूमपान तथा मद्यमान सेवन नगर्नेलगायतका सावधानी नै अपनाउनुपर्छ । ६० वर्ष अगाडिदेखि क्षयरोग न्यूनीकरणको कार्यक्रम सुरु भएको थियो, जसअनुसार सरकारले राष्ट्रिय क्षयरोग केन्द्र मातहतका हरेक स्वास्थ्य संस्थाबाट निःशुल्क क्षयरोगको परीक्षण तथा औषधि उपलब्ध गराइरहेको छ ।
क्षयरोग कुनै पनि वर्ग, उमेर समूह, धर्म, लिङ्ग, समाज, भूगोलमा बस्ने मानिसलाई लाग्न सक्ने सरुवा रोग हो । समयमै पहिचान र उपचार भएन भने यसलाई गम्भीर प्रकृतिको रोगका रूपमा पनि लिइन्छ । त्यसैले सबै सजग, सचेत र सावधान हुन जरुरी छ । सरकारले जिम्मेवारीपूर्वक कार्ययोजना बनाएर तदारुकताका साथ कार्यान्वयन पक्षमा लाग्न जरुरी छ । यसका अभियन्ता, समाजका हरेक समूह र व्यक्तिहरूले पनि जहाँबाट जुन किसिमले सकिन्छ, यस रोगलाई न्यूनीकरण गर्दै निर्मूल गर्नमा हातेमालो गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्