Logo

एक अर्ब २६ करोड लागत, ५९ हजार नागरिक लाभान्वित हुने

धौलिगाड खानेपानी आयोजना शिलान्यास

जुम्ला-निर्माण कार्य सुरु भएको झण्डै १२ वर्षपछि कर्णाली प्रदेश तथा हिमाली जिल्लाकै सबैभन्दा ठूलो धौलिगाड बृहत्त खानेपानी आयोजना शिलान्यास भएको छ । बृहत् धौलिगाड खानेपानी आयोजनाको शनिबार संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेका हुन् । बजेट अभावले अलपत्र रहेको बृहत् खानेपानी आयोजना १२ वर्षपछि बल्ल निर्माण हुने पक्का भएको छ ।
२०६६ सालबाट निर्माण सुरु भएको आयोजना विभिन्न कारणले अधुरो रहे पनि संघीयतापछि निर्माण प्रक्रिया अघि बढ्दा जुम्लाबासी खुसी भएका छन् । केही महिनाअघि मात्र अर्थ मन्त्रालयले खानेपानी आयोजना निर्माणको बहुवर्षीय ठेक्काका लागि एक अर्ब २६ करोडको बजेट सुनिश्चितताको सहमति दिएको थियो ।
कर्णाली प्रदेशकै ठूलो र नेपालका हिमाली जिल्लाको सबैभन्दा लामो प्रशारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजना निर्माणले जुम्लाबासीको खानेपानीमा पहुँच वृद्धि हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले धौलिगाड खानेपानी आयोजना विकासको क्षेप्यास्त्र भएको बताए । २०६४ निर्वाचन जितेपछि कर्णाली प्रतिष्ठान स्थापनासँंगै धौलिगाड खानेपानी आयोजना निर्माणको पहल भण्डारीले गरेका थिए । धौलिगाड आयोजनाको नाम गिनिजुकमा लेखाउनसमेत प्रक्रिया बढिरहेको छ । त्यसपछि जुम्लाको पानी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने भण्डारीले बताए ।
पूर्वमन्त्री बलबहादुर महत, दिनबन्दु श्रेष्ठलगायतका वक्ताले धौलिगाड बृहत् खानेपानी आयोजना निर्माण हुनु कर्णालीकै लागि गौरवको विषय भएको बताएका थिए ।

साढे दुई वर्षमा घरघरमा पानी
संघीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले बृहत् धौलिगाड खानेपानी आयोजनाको पानी साढे दुई वर्षभित्र जुम्लाबासीका घरघरमा पु-याइने बताए । बृहत् धौलिगाड खानेपानी आयोजनाको शिलान्यासपछि सम्बोधन गर्दै मन्त्री चौधरीले आयोजना निर्माण निर्धारित समयभित्र सकेर साढे दुई वर्षमा जुम्लाबासीका घरघरमा शुद्ध खानेपानी पुराउने प्रतिबद्धता गरे ।
२०६६ सालदेखि निर्माण सुरु भए पनि बजेट अभाव तथा प्रक्रिया नमिलेका कारण आयोजना अलपत्र अवस्थामा थियो । मन्त्री चौधरीले भने, “आफू खानेपानीमन्त्री भइसकेपछि जुम्लाबाट माग बढेपछि विशेष चासो राखेर आफै शिलान्यास गरेको छु । एक अर्ब २६ करोड लागतको आयोजनाको पहिलो चरणको टेण्डर भइसकेको छ भने दोस्रो चरणको प्रक्रिया पनि तत्काल बढाउने छु ।”
मन्त्री चौधरीले आयोजना निर्माणको कार्यकालाई यथाशीघ्र गति दिनसमेत मन्त्रालयका सचिव र महानिर्देशकलाई समेत निर्देशन दिए । कर्णाली प्रदेशको मात्र नभई हिमाली जिल्ला मध्यकै ठूलो र लामो प्रसारण वितरण लाइन भएको आयोजना भएकाले यस आयोजनलाई पूर्णता दिन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मन्त्री चौधरीले नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ ले हरेक नेपाली नागरिकलाई स्वच्छ खानेपानीको हकको कार्यान्वयन गर्न तथा जुम्लाबासीको खानेपानी समस्यालाई सधैका लागि अन्त्य गर्न यस आयोजना निर्माणमा विशेष चासो राखेको बताए ।
१२ हजार धारा निर्माण हुँदै
धौलिगाड खानेपानी आयोजनाबाट १२ हजार बढी धारा निर्माण हुने भएका छन् । खानेपानी मन्त्रालयका महानिर्देशक सूर्यराज कँडेलले उक्त आयोजनाबाट जुम्लाका चन्दननाथ नगरपालिकासहित तातोपानी र हिमा गाउँपालिकाका १२ हजार बढी घरधुरीका ५९ हजार बढि नागरिक लाभान्वित हुने बताए ।
उनले भने, “१२ हजार धारा बन्ने छन् । वर्षको नौ महिना हिउँ जम्ने ठाउँमा २ सय ७० किलोमिटर लामो प्रसारण र वितरण लाइन भएको यो नेपालकै पहिलो योजना हो । त्यसैले मन्त्रायलको विशेष चासो छ ।”
प्रतिव्यक्ति ६५ लिटर पानी पाउने डिजाइन गरिएको छ भने मुहानमा प्रतिसेकेण्ड ८५ लिटर पानी भए पनि आयोजनामार्फत प्रतिसेकेण्ड ५५ लिटर मात्रै ल्याउने डिजाइन भएको छ । झण्डै नौ किलोमिटर विशेष प्रविधिको पाइप जडान हुनेछ । आगामी आव २०८१-०८२ भित्रै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भविष्यमा मेलम्ची जस्तो नहोस् भनेर दीर्घकालीन फाइदाको डिजाइनसमेत गरिएको छ ।
धौलिगाड आयोजना तदर्थ समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले लामो संर्षघ र प्रयासपछि धौलिगाड आयोजनाले मूर्त रूप पाएकोमा खुसी व्यक्त गरे । कर्णालीकै ठूलो खानेपानी आयोजना निर्माणपश्चात जुम्लाबासीले खानेपानी समस्याबाट छुट्कारा पाउने उनको आशा छ ।
एक अर्ब २६ करोड लागत
कर्णालीकै ठूलो बृहत धौलिगाड खानेपानी आयोजनाको कुल लागत एक अर्ब २६ करोड आठ लाख चार सय रुपैयाँ रहेको आयोजना प्रमुख महेश न्यौपानले बताए । उनका अनुसार आयोजनाको एक प्रतिशत रकम सम्बन्धित स्थानीय तहले लगानी गर्नुपर्ने नीतिअनुसार चन्दननाथ नगरपालिकासहित गुठिचौर र तातोपानी गाउँपालिकाले एक करोड ४६ लाख बजेट लगानी गरेका छन् ।
जसमा चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानीले ५० लाख र गुठिचौर गाउँपालिकाले ४६ लाख रकम आयोजनाको खातामा जम्मा गरिसकेका छन् । अर्थ मन्त्रालयले गएको असारमा एक अर्ब २६ करोड बजेटको सहमति दिएपछि बहुवर्षीय आयोजनाको पहिलो चरणको टेण्डरसमेत भइसकेको छ । जुम्ला सदरमुकामको उत्तरमा अवस्थित उक्त आयोजना निर्माणको दूरी करिब दुई सय किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्