Logo

सञ्चालनको नौ महिनापछि न्यू खिम्ती सब स्टेसन उद्घाटन

दोलखा-प्रधानमन्त्री शेरबहादुर देउवाले न्यू खिम्ती सबस्टेसन सञ्चालनमा आएको नौ महिनापछि उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा रहेको नेपालकै दोस्रो ठूलो क्षमताको न्यू खिम्ती सबस्टेसन २२०÷१३२ केभी क्षमताको हो ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले लट ४ अन्तर्गत २२० केभीको ४७ किलोमिटर गोंगर–खिम्ती प्रसारणलाइन र न्यू खिम्ती सबस्टेसन निर्माण गरेको हो । प्रसारणलाइन र सबस्टेसन गत असार तेस्रो सातादेखि सञ्चालनमा आएको हो । अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार प्रधानमन्त्री देउवाले रामेछापको फुलासीमा रहेको न्यू खिम्ती सबस्टेसनको उद्घाटनपछि दोलखाको गोंगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनास्थल गोंगरमा आयोजनाको भ्रमण गरे ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो परीक्षण उत्पादन सुरु गरेको दिन गतअसार २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । आयोजनाको उद्घाटन गरेको दुई महिनापछि मात्र आयोजनाको परीक्षण पूरा गरी व्यवसायिक उत्पादन थालेको थियो ।
माथिल्लो तामाकोसीसहित जलविद्युत आयोजनाबाट विद्युत न्यू खिम्ती सबस्टेसनमा आउने र जाने गरी ४ वटा ७२ मिटर अग्ला टावर निर्माण गरिएको छ । यी सबैभन्दा अग्ला टावर हुन् । सहरेटारबाट उत्तरतिरको टावरबाट माथिल्लो तामाकोसीसहित गर्जाङ–खिम्ती र लिखु–खिम्ती ३ प्रसारण लाइनबाट आएको विद्युत सबस्टेसनमा जोडिएका छन् ।
प्रधानमन्त्रीको साथमा ऊर्जामन्त्री पम्फा भुसाल, ऊर्जासचिव, देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश वनमन्त्री विशाल खड्कालगायतको सहभागिता रहेको थियो ।
हाल यस सबस्टेसनमा माथिल्लो तामाकोसीको ४५६ मेगावाट, खिम्ती १ को ६० मेगावाट, लिखु ४ को ५२.४ मेगावाट र लिखु ए बाट उत्पादित २४.२ मेगावाट विद्युत जोडिएको छ । माथिल्लो तामाकोसीबाट उत्पादित हालसम्म ९६ करोड ९० लाख युनिट विद्युत प्रवाह भइसकेको छ ।
उक्त सबस्टेसनमा एक सय केभी क्षमताको चारवटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । यो सबस्टेसन नेपालको ढल्केबरपछिको सबैभन्दा ठूलो सबस्टेसन भएको छ ।
४७ किलोमिटर गोंगर–खिम्ती २२० केभी प्रसारण लाइनको क्लिर गर्नका लागि ठेकेदार कम्पनी केइसी इन्टरनेसनलले तयार गरेको हो । न्यू खिम्ती सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत १०० मेगावाट काठमाडौं र बाँकी २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनबाट तराईका जिल्लामा प्रसारण हुन्छ । वर्षात्मा बढी भएको बिजुली पनि यही प्रसारण लाइनमार्फत भारतमा बिक्री भएको थियो । न्यू खिम्तीबाट बाह्रविसे काठमाडौंसम्मको ४०० केभीको प्रसारण लाइन पनि बनिरहेको छ । यसमा तामाकोसी, खिम्ती, लिखु र सुनकोसीमा बनेका जलविद्युत आयोजनाको विद्युत जोड्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्