Logo

१५ हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण

हालसम्म देशभरका १५ हजार घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । लालपुर्जाविहीन मुक्तकमैया, कमलरी, हरुवा र चरुवालाई लालपुर्जा वितरण गरिएको हो ।
महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको कीर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमिवीहिनलाई लालपुर्जा वितरण भइसकेको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जावीहिन बनिरहेकालाई लालपुुर्जा वितरण अभियान तीव्र पारिएको छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुरठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमिवीहिनलाई पनि जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन् । मध्यपुरठिमि नगरपालिका वडा नंम्बर ६ र ७ तथा साविकको वडा नं. ६ र ८ को गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको जानकारी गराइन् ।
मध्यपुरठिमि नगरपालिकाको गाउँब्लकमा रहेका ४ सय ५६ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरेकी छन् । मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् । उपत्यका र विशेषगरी भक्तपुरमा रहेका स्वबासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया सुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्तकमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझावअनुसार कामअघि बढाउन आफू प्रतिबद्ध रहेको जानकारी गराएकी छन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि सहिद, बेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरूका सन्तानलाई विशेष नापीको तालिम केही समयमा नै सुरु गरिने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्