Logo

बेकरी उद्योगबाटै मासिक ८ लाख कमाइ

इलाम नगरपालिका–६ गडीकी मेनुका गुरुङ निरौला अहिले जिल्लाकै चर्चित बेकरी व्यवसायी हुन् । तर उनले आफू यति सफल भइन्छ भनेर सोचेकै थिइनन् । १३ वर्षकोे कलिलो उमेरमा अन्तर्जातीय विवाह गरेकी मेनुका अहिले ५१ वर्षकी भइन् ।
पति सुरेशकुमार निरौलाले अर्की विवाह गरेर कान्छी थपेपछि सात लाख ऋण लगाएर घर छोडेर गएको उनले बताइन् । “विदेश जाउँ पठाइ दिने कोही थिएन घरै बसुँ बस्ने र खाने केही थिएन ।” मेनुकाले भनिन्, “आफूसँग कुनै विकल्प नरहेपछि माइतीले दिएको ११ आना जग्गामा जानी–नजानी भए पनि बेकरी उद्योग खोलें,” उनी भन्छिन्, “श्रीमान्को धोकाले व्यवसायी बनायो ।”
सुरुमा त्यही जग्गामा सानो कटेरो बनाई एक तोलाको सुनको तिलहरि धितो राखी ३८ हजार ऋण लिएर बेकरी उद्योग सुरु गरेको मेनुका बताउँछिन् । अहिले बेकरीको बजार राम्रो छ । मासिक आठ लाख ६० हजारसम्म कारोबार भएको उनले सुनाइन् । उनी भन्छिन्, “सुरुमा कोकिस पनि भन्न जान्दिनथ्यें ।” पाउरोटीको परिकार कोकिस भन्नसमेत नजान्ने मेनुका हाल पाउरोटी व्यवसायी बनेकी छन् ।
अभाव, आँट र विश्वास भए आफ्नै जन्मभूमिमा विदेशको कमाइभन्दा धेरै कमाउन सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफूमा पलाएको उनले बताइन् । उनी भन्छिन्, “म नपढेकी मान्छे, सानासाना नानी थिए साथमा र त उद्यमी बन्न आँट गरें । अहिलेका पढे बुझेका किन विदेश जानु प¥यो र ?” मेनुका बेकरीमा केक, ब्रेट, बिस्कुट, क्रिमडोल, पप, डुनट, पाउरोटीका विभिन्न २७ प्रकारका बेकरी मिठाइ बन्छन् । बजारमा डुनट, ब्रेट र केकको बढी माग रहेको मेनुका बताउँछिन् । महिनामा डुनट दुई लाख १६ हजार, ब्रेट एक लाख ८० हजार, केक एक लाख ६० हजार, पाउरोटी एक लाख ५० हजार, पप ८० हजार, बिस्कुट ५० हजार र क्रिमडोल २४ हजारको कारोबार हुने गरेको उनको भनाइ छ । यहाँ उत्पादन भएको सामान इलाम बजारलगायत माइपोखरी, राँके, फिक्कल, रवि, बिब्ल्याँटे, नेपालटारलगायतका बजारमा बिक्री हुने गरेको छ ।
अहिले मेनुकाको उद्योगमा प्रत्यक्ष रूपमा आठजनाले रोजगारी पाएको उनले बताइन् । विदेश गएर आएका दुईजनाले पनि बेकरीमा काम गर्न थालेको उनी बताउँछिन् । सोही बेकरीमा काम सिकेर सक्षम भएपछि अहिले बेकरी उद्योग खोल्ने भनेर केही कामदार काठमाडौं गएको समेत मेनुकाले बताइन् ।
उद्योगकै आम्दानीले अहिले मेनुकाले थप उद्योग विस्तार गरेकी छन् । छोरो सञ्जय निरौलालाई अमेरिकामा रजिस्ट्रर नर्स पढाइरहेको र व्याचलरसम्म अध्ययन पूरा गरेकी छोरी शर्मिला निरौला भने उद्योगमा नै स्वरोजगार भई काम गरिरहेको उनले बताइन् ।

टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्