Logo

फलेवासमा डिप बोरिङबाट घरघरमा धारा

पर्वत- पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका–३ पोखराचौरस्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ ।
डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गरिएको छ । नाम विष्टपानी भए पनि यो गाउँमा पानीको चरम अभाव थियो । सामुद्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको विष्टपानी गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाइपमा दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पानी पुग्छ । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले उक्त आयोजनाको बिहीबार उद्घाटन गरे । उनले सम्भावना नै नदेखेको ठाउँमा पनि लामो प्रयासपछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको बताए ।
फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको बताउँदै शर्माले अरु ठाउँमा पनि यस्तो आयोजना सुरु गर्न सकिने सम्भावना रहेको बताए । नगरको समृद्धि र विकासका लागि आफूहरू असाधारण काम लिएर जनता माझ गएको प्रमखु शर्माले बताए । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघि पनि विष्ट गाउँमा पानी ल्याउनका लागि धेरै प्रयास भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमिनमुनिबाट पानी तान्ने कुरा नमुना काम रहेको चर्चा गरे । उनले यो प्रयासका लागि उपभोक्ता समिति, स्थानीय राजनीतिक दल, समाजसेवीलाई धन्यवाद दिए ।
नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा आउने समस्याका कारण आजित भएका विष्टगाउँबासी जमिनमुनिको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताए । शंकरपोखरी पानिको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेरसमेत पानीको गर्जो टार्ने चलन थियो । यो गाउँमा लमाएखोला बाट पानी तानेर वितरण गर्ने बृहत् लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाले भने शंकरपोखरीबासीले सुविधाको सास फेर्न थालेका छन् । विष्टपानी खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष अशोक भुसालले पानीका लागि भएको लामो समयको सास्ती अन्त्य भएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्