नियमविपरीत बढी भार बोक्दै नेपाली र भारतीय ट्रक «

नियमविपरीत बढी भार बोक्दै नेपाली र भारतीय ट्रक

राजमार्गका सडक र पुल जोखिममा

बारा-सरकारले अनुमति दिएभन्दा दोब्बर बढी तौल बोकेर पथलैया वीरगन्ज औद्योगिक करिडोर र सुक्खा बन्दरगाहबाट देशका विभिन्न ठाउँका लागि नेपाली र भारतीय ट्रक माल समान बोकी राजमार्गमा सञ्चालन हुन्छन् ।
तराई यातायात ब्यवसायी संघले राजमार्गमा सञ्चालित नेपाली र भारतीय ट्रकलाई ढुवानी भार ब्यवस्थित गर्न सञ्चालन गरिरहेको तौल पुल सरकारी निकायले बन्द गरेपछि ढुवानीका साधनले अनुमतिभन्दा बढी मालसमान बोकी राजमार्गमा गुड्न थालेका छन् । बढी भारकै कारण राजमार्गका सडक र ५० वर्षभन्दा पुराना पुल जोखिममा परेका छन् ।
१० टनभन्दा बढी क्षमता धान्न नसक्ने सडकमा ५० टनसम्म मालसामान बोकी नेपाली र भारतीय ट्रकले ढुवानी गरेपछि राजमार्गको सडक बिग्रँदो अवस्थामा रहेको र पुलसमेत जोखिममा परेको सडक विभाग कार्यालयले जनाएको छ । करिडोरका उदोग र सुक्खा बन्दरगाह वीरगन्जबाट दैनिक १ हजार बढी नेपाली र भारतीय ट्रक मालसामान बोकी नेपालका विभिन्न स्थानमा जाने गरेका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले करिडोरमा संघद्वारा सञ्चालित तौल पुल बन्द भएपछि भार नियन्त्रण अनुगमनमा अफ्ठ्यारो पर्न गएको बताए । नेपालीभन्दा बढी भारतीय ट्रकहरूले अत्यधिक भार बोकी ल्याउने गरेको र नेपाली ट्रकको तुलनामा उनीहरू बढी कारबाहीमा पर्ने गरेको बताउँदै सरकारी निकाय वा अन्य कुनै निकायबाट प्रदेशमा तौल पुल सञ्चालन गर्न माग गरेका छन् ।
बढी भार बोकी सवारी साधन चल्ने गरेकै कारण पथलैया वीरगन्ज व्यापारिक मार्ग सडक निर्माणकै क्रममा भत्कन थालेको योजना प्रमुख संजयकुमार मिश्रले बताए । पछिल्लो समय नेपालमा भारतीय ट्रक लहरीले भारतीय सरकारले दिएको अनुमतिभन्दा बढी भार बोकी नेपाल प्रवेश गर्ने गरेका छन् ।
नेपाली र भारतीय ट्रकले बढी भार बोकेकै कारण राजमार्गमा पर्ने बाराको दुधौरा पुल धसिन पुगेको थियो भने अमलेखगंजको तीन नम्बर पुल लच्किएको जोखिम बढेको सडक विभागले जनाएको छ । करिडोरमा संघद्वारा तौल पुल सञ्चालन हुँदा पूर्वको बिर्तामोड काँकडभिट्टा र मकवानपुरको हेटौडासम्म जाने नेपाली र भारतीय ट्रकलाई सरकारद्वारा तोकिएको मापदण्डमा रही ढुवानी गर्न सहज बनाउने काम भएको थियो ।
सडक पुल र सवारी दुर्घटनाको जोखिम रोक्न तराई यातायातले करिब एक दशकदेखि करिडोरको सडकमा जोडेर नेपाली र भारतीय ट्रकको भार नियन्त्रण गर्न तौल पुल सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्