बैंक तथा वित्तीय संस्थामा कर्मचारीको संलग्नता बढाउन जोड «

बैंक तथा वित्तीय संस्थामा कर्मचारीको संलग्नता बढाउन जोड

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल एओटिएस र बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेण्टको संयुक्त पहलमा अन्तर्राष्ट्रिय वेविनार सम्पन्न भएको छ ।
संस्थामा कर्मचारीको संलग्नता कसरी बढाउने भन्ने विषयमा सो वेविनारको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेल, नेपाल एओटिएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठ, एओटिसका दक्षिण एशिया प्रतिनिधि तथा न्यू दिल्ली कार्यालयका महाप्रबन्धक हिसाशी कान्डा लगायतले सम्बोधन गरेका थिए ।
कर्मचारीको संलग्नता बढाउनका लागि अन्तर्राष्ट्रिय वेविनारको आयोजना गरेकोमा धन्यवाद दिंदै कर्मचारीको ज्ञान र सीप बढाउनका लागि विशेष ध्यान दिनुपर्नेमा डेपुटी गभर्नर मिश्रले जोड दिए ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष पोखरेलले विकास बैंकका कर्मचारीको ज्ञान, सीप र क्षमता अभिवृद्घि गर्नका लागि एशोसिएसनले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गर्दै कोरोनाको प्रभाव घट्दै गए पछि भौतिक उपस्थितिमा पनि विभिन्न कार्यक्रम गर्ने योजना रहेको उल्लेख गरे ।
बैंकिङ् एण्ड इन्स्योरेन्स म्यानेजमेण्टका बैंकिङ परामर्शदाता बीएन घर्तीले ग्राहक र कर्मचारी सन्तुष्टिका सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको, मर्ज भएका संस्थामा कर्मचारीबीचको सम्बन्धमा तिक्तता आएका घटना सुनिने गरेको र समग्रमा उत्पादकत्व बढाउनका लागि कर्मचारी संलग्नता बढाउनु पर्ने आवश्यक्ता रहेको बताए । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा बैंकिङ उद्योगलाई टेवा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्