एफसी चितवनले आज ‘रूकी हन्ट’ सञ्चालन गर्दै

फुटबल क्लब एफसी चितवनले आइतबार बिहान चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट (ट्यालेन्ट क्याम्प, खेलाडी छनोट) कार्यक्रम आयोजना गर्दैछ ।
८ अप्रिलबाट सुरू हुन लागिरहेको नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्वपूर्ण प्रतिनिधित्व गराउन उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । चितवन फुटवल संघको समायोजनामा आयोजना हुने प्रतियोगितमा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउने बताइएको छ ।
तर खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्छ । यसरी छनोटमा पर्ने एक जना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउनेछन् ।
एफसी चितवन आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिको एक फुटबल क्लब हो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र पर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीलाई प्रोत्साहन गरेर दर्शकलाई मनोरञ्जन प्रद्यान गर्न क्लब स्थापना गरिएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएपनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र सुरू भएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिष्पर्धात्मक एवम् रोमाञ्चकारी हुने देखिएको छ ।