नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव

नागरिक लगानी कोषले आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । कोषले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने पनि बताए ।
कोष जस्तै संस्थाहरुले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७-२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । उनले मुलुकको स्तारोन्नतीको लागि उक्त रकम आवश्यक भएकोमा जोड दिए ।
नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋmणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताए ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पु-याइरहेको बताए ।
कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताए ।
कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले बताउनुभयो ।