आगामि चुनाव माओवादीले हा-यो भने, संविधान र गणतन्त्र हार्ने खतरा छ : प्रचण्ड «

आगामि चुनाव माओवादीले हा-यो भने, संविधान र गणतन्त्र हार्ने खतरा छ : प्रचण्ड

सिन्धुली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले आगामी चुनाव माओवादीले हा-यो भने सविधान, गणतन्त्र र जनयुद्धको उपलब्धि हार्ने खतरा रहेकोे बताए । नेकपा माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, गणतन्त्र र जनयुद्धका उपलब्धि बचाउन माओवादीले चुनाव जित्न जरुरी रहेको बताए । “हामीले चुनाव हा-यौ भने संविधान हार्ने छ, गणतन्त्र हार्ने छ, जनयुद्धको उपलब्धी हार्ने खतरा छ शान्ति पक्रिया हार्ने छ । त्यसैले यो लडाइँलाई हामीले जसरी भए पनि जित्नै पर्छ,” उनले भने ।
स्थानीय तहको निर्वाचन एउटा सामान्य औपचारिक निर्वाचन मात्र होइन, माओवादी जनयुद्ध, सात राजनितिक दल र नेकपा माओवादीबाट चलेको जनआन्दोलनका उपलब्धि रक्षा गर्ने अथवा त्यसलाई मर्न दिने भन्ने लडाई रहेको उनले बताए । अबको दुई महिनामा आत्मसमिक्षा गर्दै प्रत्येक नागरिकको घर¬घर पुग्न अध्यक्ष प्रचण्डले नेता तथा कार्यकतालाई आग्रह गरे । आफ्नो तागतमा अब आउने निर्वाचन जित्ने, आफ्नै खुट्टामा उभिने संकल्प गर्नका लागि उनले अपिल गरे । “अबको दुई महिना आत्मसमीक्षा गर्दै जनताको घरघरमा जाउ, युद्ध स्तरमा काम गर्ने संकल्प गरौँ, सविधानको सरक्षा मात्र होइन समाजवादको आधार निर्माण गर्न सकिने छ ।”
उनले भने, “शान्तिपूर्ण रुपले जनताको घरघर जाने टिम बनाउ, हामीले अहिले गोली चलाउनु छैन, बम पट्काउनु छैन, हाम्रो युवाहरूको टिमले गुंडागर्दी, जालझेल, धाधली गर्नेको सातो खानु छ ।” देशमा परिवर्तन ल्याउनेहरूले नै हार्नु परेको बताउँदै उनले परिर्वतनका विरोधीले जित्ने कस्तो लोकतान्त्रीक चुनाव रहेको भन्दै प्रश्न गरे । उनले षड्यन्त्र र धाधलि गरेरे चुनाव जित्न खोज्नेलाई परास्त गरेर छोड्ने चेतावनी दिए । “दुई महिना रातदिन खटिनुस, गुडागर्दी, धाधली, जालझेल गर्न कार्य रोक्न आजैबाट लाग्नुस तपाईहरूलाई लड्नका लागि केहि सहयोग चाहिमा भन्नु, हेडक्वाटर तयारी छ ।” जसरी हुन्छ अबको चुनाव माओवादीले जित्नुपर्ने उनको भनाइ छ । गठबन्धनको भर परेर ढुक्कसाथ घरमा नसुत्न उहाँले सम्पूर्ण नेता तथा कार्यकतालाई आग्रह गरे । “हामी अब आफैं एक्लै चुनाव जित्ने गरि लाग्नुपर्छ, राम्रो तयार गर्नुपर्छ र गठबन्धन हामीलाई खोज्दै आउनेछ, हामी बलियो हुन जरुरी छ । हामीले रगत बगाइ ल्याएको परिवर्तनलाई हामीले नै रक्षा गर्ने हो,” उनले भने ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले माओवादी पार्टी अब देशकै ठूलो पार्टी बन्ने दाबी गरे । ‘पार्टीमा एकता, छलफल र समहतिका आधारमा काम गर्ने र नेतृत्व गर्ने चलनको विकास भएको छ। अब जनयुद्ध र जनयुद्धपछि लोकतन्त्रको जस्तो हुँदैन । अब पार्टीमा एकढिक्का भएर आठौं महाधिवेशनले दिएका म्यान्डेटका आधारमा अघि बढ्छ । यसले पार्टीलाई नयाँ उचाईमा पु¥याउन मद्दत गर्छ,’ उनले भने ।
नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय भवन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक नागरिकहरूको सहयोगदमा निर्माण भएको हो । तीन तला रहेको भवन निर्माण तथा जग्गा खरिदका लागि झन्डै दुई करोड रुपैँया लगानी भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजन दाहालको भनाइ छ । पार्टी कार्यालय भवन उद्घाटन तथा अनेकोट घटनाका सहिदहरूको सम्झनामा आयोजित सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो ।

उर्मिला भट्टराई

प्रतिक्रिया दिनुहोस्