चीनसँगको सम्बन्ध अझ मजबुत बनाउनुपर्छ : पूर्वराजदूत चालिसे

पूर्वराजदूत डा. सुरेश चालिसेले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु-याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । शनिबार आयोजित साक्षात्कारमा उनले भने, ‘सैद्धान्तिक रुपमा के हो भने कुनैपनि देशको उच्चस्तरको भ्रमण भयो भने सम्बन्ध राम्रो हुन्छ। एमसीसी अस्ति पारित भयो, त्यसमा चीनले पनि आफ्नो टिकाटिप्पणी गरेको थियो । चीनको टिकाटिप्पणीको साथैथ अमेरिकाले पनि आफ्नो प्रतिक्रिया जनाएको थियो । अहिले चीनको विदेशमन्त्रीले नेपालमा चाँडै भ्रमण गर्न लाग्नुभएको छ। अप्रिल पहिलो हप्ता अमेरिकाका २५ जना कंग्रेसम्यानहरु नेपाल भ्रमणमा आउँदैछन् । ठूला–ठूला देशका उच्चस्तरीय भ्रमण हुनु राम्रो हो ।’
उनले चीनसँग नेपालको असाध्यै राम्रो सम्बन्ध रहेको सुनाए । उनले भने, ‘पछिल्ला वर्षमा चीनसँगको सम्बन्ध प्रगाढ भएको छ । भारत र चीन दुवै विश्व अर्थतन्त्रमा उदयीमान शक्ति हुन् । चीन दोस्रो ठूलो र भारत छैटौं शक्ति हो । हामीले त नेपालको हित के मा हुन्छ त्यो कुरा हेर्नुपर्छ । हित र सम्बन्धको कुरा गर्दा भारत र चीन दुवैलाई चोट नपुगोस् । अमेरिका महाशक्ति राष्ट्र हो, त्यसको साथ सधैं चाहिन्छ ।’
उनले सन् २०१७ मा बीआरआईको सम्झौता भएको उल्लेख गर्दै अब त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘बीआरआईको कुरा गर्दा ९ वटा प्रोजेक्टमा चीनको चासो छ । सडक, हाइड्रोपावरको कुरा छ ।’ उनले अमेरिकी कंग्रेसले ‘टिबेट सर्पोट एक्ट’ पारित गरेको उल्लेख गर्दै तिब्बत चीनको लागि एकदम संवेदशनील इस्यु भएको सुनाए । उनले भने, ‘त्यसमा हामी सचेत हुनुपर्छ । हाम्रो कुनै पनि क्रियाकलाप चीनको अहितमा जानुहुँदैन । एक चीन नीतिमा हामी दृढ छौं । हामीले बीआरआईलाई पनि अगाडि लिएर हिँड्न सक्नुपर्छ ।’