हस्तकलाको निर्यात बढाउन दोहोरो अंकको नगद अनुदान माग «

हस्तकलाको निर्यात बढाउन दोहोरो अंकको नगद अनुदान माग

हस्तकला महासंघले कोरोना महामारीका कारण निर्यात व्यवसाय कठिन अवस्थामा पुगेको भन्दै सहजीकरणका लागि सरकारसंग १३ बुँदे माग राखेको छ ।
निर्यात प्रोत्साहन, आन्तरीक बजारीकरण, रोजगारी सिर्जना,भन्सार कार्यालयको सुधार, सरकारी निकायमा नेपाली हस्तकला प्रयोग गरिनुपर्ने, स्वदेशी वस्तु प्रवद्र्धनका लागि निजामति कर्मचारीहरुलाइ स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य लगायतका १३ बुँदे माग पेश गरेको हो । महासंघको ४१ औं बार्षिक साधारण सभामा आयोजित कार्यक्रममा अध्यक्ष सुरेन्द्रभाइ शाक्यले उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल समक्ष सो मागपत्र बुझाएका हुन ।
कोराना महामारीका कारण हस्तकलाको निर्यात व्यवसाय दयनिय भएको भन्दै महासंघले सरकारसंग आवश्यक सहयोगका लागि यसअगाडी पनि पहल गर्न आग्रह गर्दै आएको थियो । महासंघले राखेको १३ बुँदै मागमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री भुसालले हस्तकला क्षेत्रको विकास विस्तार र निर्यात प्रवद्र्धनका लागि पहल गर्ने आश्वासन दिएकी छन् । मन्त्री भुसालले स्वदेशमै उपलब्ध वस्तु आयात नर्गन पनि व्यवसायीलाई आग्रह गरेकी छन् । त्यसरी आयात गर्दा व्यवसायीलाई फाइदा भएपनि राष्ट्रलाई घाटा हुने भन्दै नाफा मात्रै नहेर्न उनको आग्रह थियो ।
महासंघले कोरोनाबाट प्रभावित हस्तकलाको निर्यात प्रवद्र्धनका लागि हालको नगद प्रोत्साहन दर कम्तिमा दोहोरो अंकको गर्नुपर्ने र नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवम कार्यविधि सरलीकृत गर्नुपर्ने माग गरेको छ । महासंघ अध्यक्ष शाक्यले १३ बु्ँदे माग प्रस्तुत गर्दै निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेसन प्रमाणपत्र गरी गर्ने व्यवस्था हुनुपर्ने, त्रिभुवन अन्तर्राष्टिय विमानस्थल भन्सार कार्यालय लगायत माल सामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयलाई निर्यातमैत्री बनाउन माग गरेका छन् । त्यसैगरी अन्तराष्टिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गरी प्रवद्र्धन गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिन्हको विकास र प्रचार प्रुसारमा सहयोग गर्नुपर्ने महासंघको माग छ । सातवटै प्रदेशमा हस्तकलाग्राम स्थापनाका लागि विद्युत, सडक र पानी लगायतका आवश्यक भौतिक पूर्वाधारको पहुँच भएको क्षेत्रमा जग्गा उपलव्ध गराउनुपर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वोर्ड अफ टे«ड र भन्सार विभाग अन्तर्गत निकासी सहजीकरण समितिमा महासंघको पनि प्रतिनिधित्व हुुनुपर्ने मागपत्रमा उल्लेख छ ।
चीनमा व्यापार, व्यवसाय र व्यापार मेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैकिङ च्यानलबाट नेपाल ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, सरकार तथा विदेस्थित नेपाली नपाली दूतावास लागयत सबै सरकारी निकायमा नेपाली हस्तकला प्रयोग गरिनुपर्ने उल्लेख छ । त्यस्तैगरी स्वदेशी वस्तु प्रवद्र्धनका लागि निजामति कर्मचारीहरुलाइ स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य गरिनुपर्ने लगायतका माग छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनले हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मेयर शाक्यले हस्तकलाको औद्योगिक ग्रामका लागि जग्गाको व्यवस्था गरेमा महानगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्