नेपालमा लगानी बढाउन एडीबीलाई सीबीफीनको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले एसियाली विकास बैंक (एडीबी) सँग मिलेर काम गर्ने भएको छ ।
नेपाल भ्रमणमा रहेको एडीबीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवद्र्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको हो । सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।
“साना तथा मझौला व्यवसायीहरुलाई बिनाधितो कर्जा उपलब्ध गराउनु पर्छ अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन्” उनले भने, “एमएसएमइहरुबाट ठूलो रोजगारी सृजना हुने हुनाले यी उद्योगहरूलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीपको सहित सहयोग गरिनुपर्छ ।” बैठकमा सीबीनका अध्यक्ष पवन कुमार गोल्यानले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन एडीबीसँग आग्रह गरे । जसले गर्दा तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उनको भनाइ थियो ।
सीबीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सीबीनले नीति संवाद, नीति निर्माण साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको बताए ।