पुल बनेपछि हलेसी मन्दिरमा दर्शनार्थीको घुइँचो

खोटाङको जयरामघाटमा पुल बनेपछि पूर्वको पशुपतिनाथ भनरे चिनिने हलेसी महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंलगायत तराईका जिल्लासँग जोड्ने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा मोटरेबल पक्की पुल बनेपछि आवत–जावतमा दर्शनार्थीका लागि निकै सहज भएको छ । निर्माणकार्य थालेको ९ वर्षपछि पक्की पुल सञ्चालनमा आएको हो । हिउँद तथा वर्षायामका बाह्रैमास नदी वारपार गर्न अनुकूल वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक संख्यामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । “जयरामघाटमा पक्की पुल बनेसँगै सहजरूपमा सवारी साधनबाट सिधै दूधकोसी तरेर हलेसी आउने वातावरण बनेको छ ।” उनले भने, “यसअघि सुनसानजस्तै हुने हलेसी अहिले दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीडभाड हुने गरेको छ ।”
मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भए पनि पुल अभावका कारण पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । जयरामघाटको पक्की पुल गत मंसिर ८ गतेदेखि सञ्चालमना आएको हो । हिन्दु, बौद्ध र किराँत, धर्मावलम्बीहरूको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका देशबाट हजारौं दर्शनार्थी आउने गरेका छन् ।
हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै व्यापार–व्यवसाय पनि फस्टाएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । “विगत वर्षमा खाली रहने हलेसीका होटलहरू अहिले भरिभराउ छ ।” उनले भने, “पर्यटक र दर्शनार्थीको संख्या बढ्न थालेपछि सुविधा सम्पन्न होटल खोल्ने क्रम पनि सुरु भएको छ ।”
धार्मिक तथा साँस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिए ।
सदरमुकाम दित्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीजलगायतमा पर्वमा ठूलो मेला लाग्ने गर्छ । १५ दिनसम्म लाग्ने मेलामा अर्बौंको कारोबार हुने गरेको व्यवसायीको भनाइ छ ।
हलेसी आउने पर्यटक तथा दर्शनार्थीको सहजताका लागि भौतिक संरचना, बिजुलीबत्ती, खानेपानी, सञ्चार सेवालगायतलाई व्यवस्थित पार्न नगरपालिका लागिपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । “सुन्दर, सफा र व्यवस्थित हलेसी बनाएर अझ पर्यटक र दर्शनार्थी भित्र्याउने योजनाका साथ नगरपालिका जुटेको छ ।” उनले भने, “यसका लागि आन्तरिक छलफल, विज्ञको सुझाव र गुरु योजना निर्माण कार्यलाई पनि अघि बढाइएको छ ।”
हलेसीमा पर्यटक र दर्शनार्थीको भीड बढेपछि नगरपालिकाले मन्दिर परिसरमा निरन्तर सरसफाइ अभियानसमेत थालेको छ । मन्दिर आसपासमा अव्यवस्थित तरिकाले बिक्रीका लागि राखिएको डोरामालाको पसललाई व्यवस्थित पारिएको छ ।
मन्दिरमा शृङ्खलाबद्ध भेटी चोरी, सुरक्षाको चिन्ता
पछिल्लो समय पटकपटक ताला तोडेर मन्दिरको भेटी चोरी हुन थालेपछि हलेसी मन्दिरमा सुरक्षा चिन्ता बढेको छ । तीन महिनाकै अन्तरमा हलेसी महादेव मन्दिरको भेटी चोरी भएपछि मन्दिरको सुरक्षा चिन्ता बढाएको हो । गत भदौमा मन्दिरभित्रको भेटी चोरी भएको हलेसीमा पुनः पुस २९ गते राति पनि भेटी चोरी भएको छ । भदौमा भएको चोरीमा संलग्नको पहिचान भए पनि पछिल्लो चोरीमा संलग्नको हालसम्म पहिचान हुन सकेको छैन ।
जिल्लाको प्रमुख आर्थिक स्रोतको रूपमा रहेको हलेसीमा पटकपटक भेटी चोरी हुनुले मन्दिरको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको स्थानीयको भनाइ छ । फलामे बारले घेरिएको महादेवको शिवलिंग र गणेशको मूर्तिसँगै राखिएको ‘तीन ताल्चे’ बाकस फोडेर भेटी चोरी हुनुले समग्र मन्दिर नै असुरिक्षत देखिएको महादेवस्थानका वडासदस्य डिल्ली चामलिङको भनाइ छ ।
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बोधिसत्व प्राप्त गरेको, नजिकै किराँत समुदायको आदिम थलो तुवाचुङस्थल लगायतका आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा स्वदेश तथा विदेशबाट हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको बाक्लो भीड लाग्ने गरेको छ ।
वि.सं १८६१ सालदेखि २०६० सालसम्म गिरि महन्तले एकलौटी आम्दानीको स्रोत बनाएको हलेसी मन्दिरको भेटी संकलनका लागि हाल पवेशद्वारमा एउटा र गुफाभित्र शिवलिंग रहेको ठाउँमा अर्को दान बाकस राखिएको छ । द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीको अगुवाइमा २०६१ साल मंसिरमा बालाचतुर्दशी मेलाको बेला पुजारी फेर्ने र व्यवस्थापन समिति बनाउने काम भएपछि हलेसीको आम्दानीको हिसाब किताब राख्न थालिएको हो । त्यसपछि बनेका हलेसी महादेव विकास समिति र मन्दिर व्यवस्थापन समितिले मन्दिरको आम्दानीलाई चुस्तदुरुस्त बनाउन २०६८ सालदेखि हलेसीमा एउटै दान बाकसमा इलाका प्रहरी कार्यालय, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको छुट्टाछुट्टै ‘तीन ताला चाबी’ हाल्ने व्यवस्था सुरु गरिएको हो । तर, तीनवटै चाबी लगाइएका दान बाकस फोडेर पटकपटक चोरी हुन थालेपछि हलेसी मन्दिरमा चौबिस घण्टे सुरक्षा व्यवस्था आवश्यक देखिएको राईले बताए ।
मन्दिरको प्रवेशद्वार र मन्दिरभित्र राखिएका दान बाकसमा जम्मा भएको रकम र अन्य ठाउँमा चढाइएका भेटी प्रत्येक महिनाको अन्तिम दिन इलाका प्रहरी चौकी हलेसी, हलेसी महादेवस्थान विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति र स्थानीयको रोहबरमा ताला फोडेर गणना गर्ने गरिएको छ । इलाका प्रहरी कार्यालयनजिकै रहेको हलेसी मन्दिरमा फितलो सुरक्षा व्यवस्थापनका कारण पर्यटक एवं दर्शनार्थीमा समेत नकरात्मक सन्देश गएको स्थानीय बताउँछन् । हलेसी मन्दिको भेटी चोरी भएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले इलाका प्रहरीचौकी हलेसी, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिलाई पुस ३० गते स्पष्टीकरणका लागि पत्र पठाइसकेका छन् ।
उत्तम चौलागार्इं