कर सहजीकरण गर्न नाडाको माग

नाडा अटामोबाइल्स एसोसिएसनले आन्तरिक राजस्व विभागसँग राजस्वसम्बन्धी नीतिगत विषयहरूमा छलफल गरेको छ ।
अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले विभागका महानिर्देशक रितेशकुमार शाक्यसँगको भेटमा नाडाबाट हरेक वर्ष सञ्चालन हुने तालिम कार्यक्रममा विभागले गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै नाडाले निकट भविष्यमै सातवटै प्रदेशमा आयोजना गर्ने करसम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगका लागि आग्रह गरे ।
अध्यक्ष थापाले सवारीसाधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरूले बैंक तथा वित्तीय संस्थाको अनिश्चितताका कारण मूल्य अभिवृद्धि करको बिल विजक काट्न ढिलाइ हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने जानकारी गराए । यस प्रकारको व्यावहारिक कठिनाइको सहजीकरणका लागि आग्रह समेत गरे ।
छलफलमा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरूले अनिवार्य रूपमा कम्प्युटर बिल जारी गरी सो बिलमा एचएस कोड समेत उल्लेख गरिनुपर्ने भन्दै अटोमोबाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमानाकाहरूलाई कडाइ गर्नुपर्ने बताए ।
महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल व्यवसायीलाई मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता गर्नुपर्ने विषयलाई कडाइका साथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरे । साथै, अनलाइन पेमेन्टको व्यवस्थाका लागि समेत आग्रह गरे ।
महानिर्देशक शाक्यले सिस्टममा सुधार गरिने, खुला सीमा राज्यकै समस्या भएको र सबै करदताहरूका लागि एउटै व्यवस्था गरिने बताए । उनले नाडाले बजेट सुझावमा आवश्यक सबै राय–सुझावहरू राखिदिन आग्रह समेत गरे । छलफलमा उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईले व्यवसायीहरूले बिल विजकहरू यथाशक्य छिटो काट्ने व्यवस्थाका लागि आग्रह गरे ।