आधुनिक प्रविधिको कृषिमा आकर्षित बाँकेका किसान

कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् ।
बाँकेको राप्ती सोनारी गाँउपालिका–७ फत्तेपुरका किसानहरु पुरानो प्रविधिबाट खेती गर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेमार्फत् उक्त वडामा स्र्माट कृषि गाँउ कार्यक्रम लागू भएपछि किसान पुनः कृषि पेशामा फर्केका हुन् । सो गाउँपालिका कृषि पेशामा होमिएको गाँउपालिका हो । तर पुरानै विधि र प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो ।
लगानी र मिहिनेत बढी लाग्ने तर उत्पादन कम हुँदा किसान कृषि पेशाबाट पलायन भई दैनिक ज्यालादारी मजदुरी काममा लागेका थिए । नेपाल सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत् स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन गरेपछि किसानहरु उत्पादन देखेर पुनः कृषि पेशामा फर्केका छन् । कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक बर्षमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिने र प्याकेट क्षेत्रका लागि मलबिउहरु पूर्ण रुपले ज्ञान केन्द्रले दिएपछि थप हौसला आएको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसान चक्रबहादुर थारुले बताउनु भयो ।
वर्षामा धान, हिउँदमा आलु मात्रै उत्पादन गरिरहेका किसान २०७५ सालदेखि १२ महिना खेती गरिरहेका छन् । स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि अहिले १ सय ७ घर धुरीले सिजनअनुसार खेती गरिरहेका छन् । वर्षातमा धान, हिउँदेमा आलु र तोरी र बसन्तमा मकै खेती गरीरहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकै जस्तो उत्पादन नभएपछि उनीहरु भारतीय मकैको बिउमा निर्भर परेको फत्तेपुर स्मार्ट कृषि गाँउका किसान तथा सचिव खोजलाल थारुले बताए ।
तराईको भेग र बाँकेको माटो उर्वर भएको कारणले मकै उत्पादन राम्रो भैरहेको छ । स्मार्ट कृषि गाँउ कार्यक्रम लागु भएदेखि नै फत्तेपुरका किसान पूर्णरुपमा कृषिमा आवद्ध भएको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए । यस क्षेत्रमा उत्पादन हुने चाँद, ताला ११ जिरो सात, जेपी पाँच सय दुई जातका मकै अहिले बसन्ते सिजनमा ९ बिगाहा जमिनमा मकै खेती गरेको अधिकृत भट्टराईले बताए ।
राप्ती सोनारी गाँउपालिकाले स्मार्ट कृषि गाँउका किसानलाई आर्थिक सहयोग नगरे पनि प्राविधिक रुपमा किसानले खबर गर्न साथ सहयोग गर्दै आएको गाँउपालिकाकी कृषि प्राविधिक सुमित्रकुमारी थारुले बताइन् । सरकारले मान्यता दिएको मकै धेरै समय लाग्ने, घोगा लामो भएपनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमी आएकाले किसानले भारतीय मकैको बिउ लगाउने गरेको उनेल बताइन् ।