उपभोक्ताको हक हित सरंक्षण गर्न सरकार गम्भिर छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँडले उपभोक्ताको हक हित संरक्षण गर्नका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको विश्व उपभोक्ता अधिकार दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले उपभोक्ताप्रति जिम्मेवार हुन उद्योगीलाई आग्रह गरेका हुन । कानूनको कार्यान्वयन गर्ने, नयाँ कानून तर्जुमा गर्ने दायित्व सरकारको रहेको भन्दै उनले उद्योगी व्यवसायीले कम मुनाफा राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
बजारमा मूल्य बढ्नुको मुख्य आधार इन्धनको मूल्य रहेको बताउँदै गृहमन्त्री खाँडले सकेसम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि नियन्त्रण गर्न खाजिएपनि थेग्न नसक्ने भएपछि बढाउनुपरेको बताए ।
अन्तर्राष्ट्रिय बजार अनुरुप अब हरेक दिन नयाँ मूल्य अवलम्बन गर्ने पद्धतिमा जानका लागि तयारी भइरहेको उनले जानकारी दिए । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताए ।
वाणिज्य सचिव डा गणेश पाण्डेले उपभोक्ताको हक अधिकार सुरक्षित राख्न मन्त्रालय विभागले मात्र नसक्ने भएकाले सबै निकायको भूमिका महत्वपूर्ण रहेको बताए । बजारलाई स्वच्छ र व्यवस्थित राख्नका लागि संघ, प्रदेश र स्थानीय निकाय सवैको दायित्व बराबर रहेको उनको भनाइ छ । बजारमा हुने गलत क्रियाकलाप रोक्नका लागि व्यवसायी इमान्दार र उपभोक्ता सजक हुन भए मूल्य बृद्धि, ठगी, मिसावट, म्याद नाघेका सामान विक्रि लगायतका समस्या स्वत अन्त्य हुने उनको भनाइ छ । युक्रेन र रुसको युद्ध देखाएर बजारमा कृत्रिम अभाव देखाएर सामानको मूल्य बढेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
सरकारको कमजोर नियमनको कारणले गर्दा व्यवसायीले अस्भाविक रुपमा मूल्य बढाएर उपभोक्ता ठगिरहेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनको भनाइ छ । उनले बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य विभाग कारबाही भन्दा पनि राजस्व संकलनमा केन्द्रित रहेको बताए । स्थानीय निकायलाई बजार अनुगमनको जिम्मा दिएपनि अहिलेसम्म कुनै पनि निकायले प्रभावकारी रुपमा काम गर्न नसक्दा बजारमा मिसावट, मूल्य वृद्धि, म्याद नाघेका सामान बिक्री, नापतौलमा ठगी जस्ता समस्या दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ ।
काठमाडौं महागरपालिकाकी उपपेयर हरिप्रभाव खड्गीले ऐन कानून बनाउन समय लागेकाले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसकिएको बताइन् । “स्थानीय निकायलाई बजार अनुगमनको जिम्मेवारी दिएपनि कारबाही गर्ने अधिकार वाणिज्य विभागलाई मात्र थियो” उनले भनिन् “ऐन बनाएर अहिले महानगरपालिकाको मातहतमा आएकाले अब बजार अनुगमनसँगै कारबाही गर्न सहज हुन्छ ।”
नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले बजारमा खाने तेलको मूल्य बढेपनि अन्य सामानको मूल्य नबढेको दावी गरे । बजार अनुगमन गरेर मात्र बजार सुधार नहुने भएकाले उपभोक्ता शिक्षा विस्तार गर्न अति आवश्यक रहेको उनको भनाइ छ ।
विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले मूल्यवृद्धि, अनियमितता नियन्त्रण बजार अनुगमन गरिरहेका र अस्भाविक रुपमा मूल्य बढाएर उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरिएको बताए । बजार नियमन र अनुगमनको काम संघ, प्रदेश र स्थानीय निकायको साझेदारीभित्र रहेकाले सोही अनुसार सबै निकायले सक्रियरुपमा काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।